कार्तिक २४ नवलपरासी । पेट्रोलिय पदार्थको नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्ट्रितेलको मूल्यमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो । यसैगरी खाना पकाउने ग्याँसको मूल्यमा ७५ रूपैयाँ बढाइएको छ ।

बढेको मूल्य अनुसार अब उपभोक्ताले एक लिटर पेट्रोल किन्न १३६ रूपैयाँ खर्चनुपर्ने भएको छ भने डिजेल र मट्टितेलको भाउ पनि ११९ रूपैयाँ पुगेको छ । यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ५७५ रूपैयाँ पुगेको छ ।

यस्तै, निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको जानकारी दिए ।

यसअघि निगमले कात्तिक १२ गतेमात्र इन्धनको भाउ बढाएको थियो । १२ दिनपछि नै मूल्य बढेको हो । बढेको भाउमा तेल बेच्दा पनि निगमलाई १५ दिनमा पौने ३ अर्ब रूपैयाँ घाटा हुने दाबी उसको छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा हुने निगमको प्रक्षेपण छ।

ग्यासमा निगमलाई सबैभन्दा बढी घाटा प्रतिसिलिन्डर ६५७ रूपैयाँ ८४ पैसा रहेको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ ।

गत कात्तिक १२ गते पनि निगमले तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

प्रकाशित मिति : २०७८ कार्तिक २४ गते बुधवार