ट्रेन्डीङ्ग

गल्याङ:व्यवसायिक बाख्रापालन कृषक समूहको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

कार्तिक ८ गल्याङ । गल्याङ नगरपालिका वडा नम्बर ४, दुधेचौरमा उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजनाद्वारा सञ्चालित उन्नत बाख्रापालन तथा खसीबोका वितरण कार्यक्रम सम्बन्धी सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसान आत्मनिर्भर बन्नका लागि परियोजनालाई सही रुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले कृषि र पशुपालनबाट आत्मनिर्भर बन्नका लागि गल्याङ नगरपालिकाले सबै खालको सहयोग गर्ने प्रतिबद्वता जनाउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अनुदानका लागि मुख ताक्ने मात्रै होइन, काम नै गरेर अगाडि बढ्नुस् नगरपालिकाले सबै खालको सहयोग गर्न तयार छ ।

उहाँले कृषकहरुका लागि अनुदान मात्रै नभएर सस्तो ब्याजमा ऋणका लागि पनि आफुले सहयोग गर्ने बताउनुभयो ।
काम गर्नेहरुका लागि पैसाको खाँचो नहुने भन्दै नगरप्रमुख अधिकारीले इमान्दार भएकार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गल्याङ नगरपालिकामा दुधको क्षेत्रमा राम्रो काम भैरहेको भन्दै अब बाख्राको क्षेत्रमा पनि काम अगाडि बढेको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले नगरपालिका भित्रका किसानहरुका लागि बाहिरी अनुदान भित्र्याउन आफुले पहल गरिरहेको भन्दै यसका लागि किसानहरु पनि अझै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले एनएलएसआइपीको परियोजना अरु भन्दा निकै राम्रो भएको बताउनुभयो ।

उहाँले यसअघि पनि विभिन्न अनुदानका कार्यक्रमहरु आएको भए पनि नेपाल लाइभ स्टक सेक्टर परियोजना काम गर्ने किसानहरुका लागि निकै राम्रो रहेको बताउनुभयो । गल्याङ नगरपालिका वडा नम्बर चारका अध्यक्ष नेत्र प्रसाद पाण्डेले ठूलो संघर्ष गरेर परियोजना ल्याउन सफल भएको भन्दै अब कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले परियोजनाले तोकेको मापदण्डमा रहेर परियोजना सफल पार्न आग्रह गर्नुभयो । पशु चिकित्सक डाक्टर अनिस सापकोटाले बाख्रापालन गर्ने क्रममा गर्नुपर्ने प्राविधिक सहयोगका लागि आफुहरु जुनसुकै बेला तयार रहेको बताउनुभयो ।

व्यवसायिक बाख्रापालन कृषक समूहका अध्यक्ष रुक्मागत न्यौपानेले आयोजना सफल पार्न संस्थका सबै कृषकहरु एकजुट भएर लागिरहेको बताउनुभयो ।

गल्याङ सञ्चार प्रा.लि.गल्याङ एफएम ९२.२ मेगाहर्जको सहजिकरणमा भएको सार्बजनिक सुनुवाई कार्यक्रमको संचालन एफएमका स्टेशन म्यानेजर तथा गल्याङ नगरपालिका प्रेस संयोजक केपी खनालले गर्नुभएको थियो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका इन्जिजियरहरु बुद्धि विश्वकर्मा र कृष्ण अर्यालले आयोजनाको मापदण्ड अनुसार खोर निर्माण गर्ने विधिबारे कृषकहरुलाई सहजिकरण गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?