ट्रेन्डीङ्ग

वालिङ:स्वास्थ्यकर्मीलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम

तोलाकान्त बगाले,वालिङ , ३ कात्तिक। वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि सम्बन्धी तालिम दिन शुरु गरिएको छ ।

वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल,स्वास्थ्य चौकी,शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी तालिमको शुरुवात गरिएको हो।

आजबाट शुरु भएको तालिम आगामी ९ गतेसम्म सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्नु हुँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।उहाँले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकृत राजन भट्टराईले एकहप्तासम्म तालिममा सिकेका सीप,ज्ञानलाई आ-आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनुभयो ।

स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बालबालिकाको जीवनरक्षा,स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनुहुँदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन,सिक्न,समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग,विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको विचार ब्यक्त गर्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईको सभापतित्वमा सन्पन्न उद्घाटन समारोहको सञ्चालन स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?