वालिङ, १ कार्तिक।स्याङ्जाको वालिङ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा रु. १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

नगरपालिकाले ज्येष्ठ नागरिक, दलित,आर्थिकरुपले विपन्न,एकल एवं विधवा महिला,असाह्य,अपाङ्गता भएका ब्यक्तिहरुकालागि बैंकमार्फत रु.१६ करोड ३१ लाख २१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिको सूची तयार गरेर विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग सम्झौता गरी छ हजार ६२८ जनालाई भत्ता वितरण गरेको भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाका १४ वटाहरुमा ७० वर्षभन्दामाथिका तीन हजार २८६, ज्येष्ठ नागरिक दलित ४७८, ज्येष्ठ नागरिक एकल महिला ८००, असहाय/विधवा ८७२, अपाङ्ग भत्ता क वर्गा १४३, ख बर्ग २६६ र दलित बालबालिका ७८३ गरी कूल छ हजार ६२८ जनालाई तीन चौमासिकमा बैंकमार्फत रकम हस्तान्तरण गरिएको हो ।

प्रथम चौमासिकमा रु. चार करोड ७४ लाख ६५ हजार २८२, दोस्रो चौमासिकमा रु. पाँच करोड ६० लाख १५ हजार १९८ र तेस्रो तथा अन्तिम चौमासिकमा पाँच करोड ९६ लाख ४० हजार ५२० गरी कूल रु. १६ करोड ३१ लाख २१ हजार भत्ता वितरण गरिएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले जानकारी दिनुभयो ।

नगरपालिकामा सबैभन्दा धेरै भत्ता बुझ्नेको संख्या ७० वर्षमाथिका तीन हजार २८६ जना ज्येष्ठ नागरिकहरु रहेका छन् ।

वालिङ नगरपालिकामा गत आव २०७६/०७७ मा रु. सत्र करोड २१ लाख ४४ हजार ४०० रकम भत्तास्वरुप वितरण गरिएको सहायक लेखापाल ईश्वरीप्रसाद तिवारीले बताउनुभयो ।

ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु. सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको हो ।

नगरपालिकाले प्रथम,दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ । आव २०७६/०७७ को पहिलो चौमासिकमा रु पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु. पाँच करोड ७७ लाख ५८ हजार वितरण गरिएको सहायक लेखापाल तिवारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ कार्तिक १ गते सोमवार