असोज २४, गणेश एसके दार्चुला। दार्चुलामा भारतद्वारा अतिक्रमित भूभागमा बसोवास गर्ने सबै नेपाली जनताहरुको तथ्याङ्क जनगणना समेटिनु पर्ने माग राख्दै विप्लव निकट अखिल (क्रान्तिकारी)ले जिल्ला प्रशासन कार्यालयमा आईतबार ज्ञापन पत्र बुझाएको छ ।

संगठनका अध्यक्ष भुवन जोशी लगायत को टोलीले बुझाएको सो पत्रमा उल्लेख गरिएको छ कि,“हाम्रो महान तथा गौरवशाली सङ्गठन अनेरास्ववियू ( क्रान्तिकारी ) नेपालको राष्ट्रियता,स्वाधीनता , नेपाली जनताको आत्मसम्मान र स्वाभिमानका लागि निरन्तर संघर्षरत रहेको छ ।

अहिले नेपाल सरकारद्वारा राष्ट्रिय जनगणना-२०७८ ” मलाई गणना गर,हामीलाई समावेश गर”भन्ने नारा सहित चलिरहेको छ । तर विडम्बना जनगणना सकिन लाग्दा पनि सरकारले नेपालको संशोधित नक्सा अनुसार दार्चुलाको व्यास गाउँपालिका ०१ मा अवस्थित लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको जनगणना बारे कुनैपनि पहलकदमी लिईएको देखिदैन । राज्यले आफ्नो भुभागमा बसोबास गरिरहेका नागरिकहरुको जनगणना बारे देखाएको उदासीनता प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ।

यो क्षेत्र नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता भित्र पर्ने भएकोले यस क्षेत्रको जनगणना अनिवार्य रहेको छ । त्यस क्षेत्रको भौतिक रुपमा उपस्थित भएर जनगणना गर्न नसकिने अवस्था भए अन्य वैकल्पिक विधि अन्तर्गत स्याटेलाईट गुगल भर्टिकल इमेज तथा स्थलिय अब्लिक फोटोग्राफ , सिमाक्षेत्राका जनताहरु सङ्गको सोधपुछ,पुराना तथ्य र तथ्यांकका आधारमा लिपुलेक देखि नाभिडाङ,तिलसी (कालापानी)गुन्जी,नाभि,कुटी,जेलिङकाङ , लिम्पियाधुरा सम्मको भुभाग समावेश गरि जनगणना गर्न यस जिल्ला प्रशासन कार्यालय सङ्ग र यस मार्फत अन्य संबंधित निकाय जोडदार माग गर्दछौं।”

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार