ट्रेन्डीङ्ग

उत्पादनमा जोड दिनुहोस बजारीकरण नगरले गर्छ:नगर प्रमुख खाँण

तोलाकान्त बगाले,वालिङ,२१ असोज ।वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ ।

वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित कुमाल समुदायका महिलाहरुका लागि लक्षित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना ब्यवसायिक सिलाई कटाई तालीमको उद्घाटन गर्नुहुँदै उक्त धारणा ब्यक्त गर्नुभएको हो ।

विशेष गरेर महिला दिदीबहिनीहरुलाई सीप सिक्न अनुरोध गर्नुहुँदै सिकेको सीपलाई ब्यवसायिकरुपमा लगाएर आर्थिक लाभ लिन पनि सुझाव दिनुभयो ।

“तपाईहरुले सीप सिकेपश्चात सिकेको सीपलाई भरपूर प्रयोग गरी ब्यवसाय थाल्नुहोस् र उत्पादनमा जोड दिनुहोस्” प्रमुख खाँणले भन्नुभयो, “उत्पादित बस्तुको बजारीकरणका लागि आवश्यक पहल नगरले लिन्छ ।”

वालिङ नगरपालिकाका १४ वटै वडामा उत्पादित पहिचानका सामग्रीहरुको प्रदर्शन र बिक्री वितरणका लागि नगरपालिकाले कोसेली घर निर्माण गरेको प्रमुख खाँणले बताउनुभयो ।

सीप सिकेपछि ब्यवसाय सञ्चालनका लागि रकमको अभाव भएमा नगरपालिकाले बिना धितो बीउ पूँजी उपलब्ध गराउनुकासाथै बैंकहरुसँग नगरपालिका जमानी बसेर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने प्रमुख खाँणले बताउनुभयो ।

कार्यक्रममा दियालो संस्थाका अध्यक्ष कविता गैह्रेले कुमाल समुदायका महिलाहरुको मागका आधारमा सिलाई कटाई तालीम सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि थप कार्यक्रम तथा तालीमहरु सञ्चालन गर्ने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य धनबहादुर कुमाल, कुमाल समाज वालिङका अध्यक्ष लोकबहादुर कुमाल,कुमाल समाज नेपालका केन्द्रीय सदस्य अमृता कुमाल,दियालो संस्थाका सीता गैह्रेे लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

दियालो संस्थाका विष्णु गैह्रेको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कविता गैह्रेको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन दियालो युनएनडिपी परियोजनाका प्रमुख राधाकृष्ण डुम्रेले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?