बुटवल।नेपालको राजनीतिक,आर्थिक,सामाजिक,सांस्कृतिक,कुटनीतिक र प्रशासनिक क्षेत्रमा भारतीय हस्तक्षेप यो वा त्यो बाहनामा प्रकट भइरहन्छ। भारतीय शासक वर्ग नेपालको राष्ट्रियता,राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताका विरुद्धमा सधैं निमर्म ढङ्गले प्रस्तुत हुने गरेको छ। सांस्कृतिक क्षेत्रमा भारतीय साम्राज्यवादी अतिक्रमण छ।नेपालको अर्थतन्त्र र शैक्षिक प्रणालीमा भारतीय प्रभाव छ।नेपालको भौगोलिक अर्थात् सिमा अतिक्रमणको विषयमा त झन् भारत सबैभन्दा अगाडि छ।

सुरक्षा प्रणाली

सुरक्षा प्रणालीको सन्दर्भमा दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल र भुटानलाई भारतले आफ्नो सुरक्षा प्रणालीभित्रका राष्ट्रहरूमा ठान्ने गरेको पाइन्छ।सन् १९४७ मा स्वतन्त्र हुँदा देखि नै भारतले नेपाल, भुटान र तत्कालिन सिक्किमलाई भारतीय सुरक्षा प्रणालीभित्र ठान्ने मान्यता राख्दै आइरहेको छ।नेपाललाई भारतले आफ्नो प्रभाव क्षेत्रको मुलुक मान्ने हुदाँ त्यसको आधारमा बेलाबेलामा नेपालको सुरक्षा नीति तथा घरेलु राजनीतिलाई प्रभावित पारिरहन खोज्दछ । खुल्ला र सजिलो सिमाका कारण नेपाली र भुटानी भूमिबाट हुन सक्ने सुरक्षा चुनौतीप्रति भारत सचेत हुनुपर्छ भन्ने कुरामा भारतीय विश्लेषक, राजनीतिज्ञ र नीति निर्माताहरूमा मतैक्यता पाइन्छ ।जसको कारण र प्रभाव हो,भारतले नेपाल र भुटानलाई आफ्नो सुरक्षा प्रणालीभित्र पर्ने मान्यतालाई यथावत राखेको देखिन्छ।नेपाललाई सकेसम्म भारतीय सुरक्षा प्रणालीको अवधारणाभित्र राख्ने भारतको महत्वकांक्षी योजना देखिन्छ । यसर्थ,नेपालको विदेश नीति र सुरक्षा नीतिमा हस्तक्षेप गर्ने भारतीय निती र व्यवहार यथावत रहेको देखिन्छ ।

जयसिंह धामी:भारतीय दादागिरीको सिकार

गत साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ का ३३ वर्षिय जयसिंह धामी महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय दुई सिमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी फुकालीदिएपछि महाकाली नदीमा खसी बेपत्ता परे ।यो भारतीय एसएसबीको नेपाली नागरिकमाथिको ठाडो हस्तक्षेप हो।यो भारतीय सुरक्षा फौजको देखादेखी दादागिरी हो।यस घटनाबाट भारतीय साम्राज्यवादी शासकवर्गले नेपाली नागरिकमाथि गर्ने व्यवहार र हेर्ने दृष्टिकोण कस्तो छ,भन्ने कुरा प्रस्ट हुन्छ ।

नेकपाको देशव्यापी जनसङ्घर्ष

जयसिंह धामीको हत्याको विषयलाई लिएर त्यसको विरुद्धमा नेपालका विभिन्न मानव अधिकारकर्मी,कानुन,व्यवसायी,बुद्धिजीवी, नागरिक,नागरिक समाज,सामाजिक संघसंस्था,विभिन्न राजनीतिक दल र विद्यार्थी सङ्गठनहरूले देशव्यापी विरोध गरे ।जसको अग्रमोर्चा अर्थात् अग्रपङ्त्तिमा रहेर नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी जनसङ्घर्ष गर्‍यो ।

घटना भएको अर्को दिन अर्थात् साउन १६ गते नेकपाका प्रवत्ता खड्क बहादुर विश्वकर्मा‘प्रकाण्ड’ले प्रेस विज्ञप्ति जारी गरी तुइन घटनाको वास्तविक छानबिन, दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय र भारतीय शासकहरूको हस्तक्षेपकारी रवैयाका विरुद्ध देशव्यापी सङ्घर्षमा उत्रिन पार्टीपङ्त्ति र आम नेपाली जनतामा अपिल गरे । प्रकाण्डले विज्ञप्तिमा तुइन घटना मानवता, जनअधिकार एंव स्वतन्त्रता र राष्ट्रिय स्वाधीनता प्रवर्धनको दृष्टिकोणले गम्भीर,अक्षम्य र निन्दनीय भएको विचार व्यक्त गरेका थिए । प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको थियो-‘उक्त घटनाको तदारुकताका साथ छानबिन गरि सत्यतथ्य नेपाली जनतासामु सार्वजनिक गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

प्रेस विज्ञप्ति मार्फत प्रकाण्डले चरणबद्ध रुपमा देशव्यापी जनसङ्घर्षका कार्यक्रमहरू घोषणा गरे जसले भारतीय शासकवर्गप्रति र नेपालको राजनीतिक इतिवृत्तमा ठूलो तरङ्ग पैदा गर्‍यो ।

सङ्घर्षका कार्यक्रमहरू

नेकपाले हज्जारौं नेपाली जनता,आफ्ना पार्टीका नेताकार्यकर्ता, बुद्धिजिवी,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायतको बृहत उपस्थितिमा साउन १६ गते देशव्यापी विरोध प्रदर्शन र साउन १८ गते देशव्यापी विरोध सभा सम्पन्न गर्‍यो । उक्त विरोध प्रदर्शन र विरोध सभाले उपत्यका क्षेत्र,पोखरा, रुपन्देही,कपिलवस्तु,दाङ,मकवानपुर,कञ्चनपुर, चितवन, बाँके, बर्दिया,दोलखा,सिन्धुपाल्चोक, नवलपुर,पश्चिम नवलपरासी,अर्घाखाँची,पाल्पा,गुल्मी, स्याङ्जा,दमक,झापा,कालिकोट, रोल्पा,अछाम, नुवाकोट, कैलाली, सुर्खेत, रामेछाप, धनुषा,डोटी,डडेलधुरा,जाजरकोट लगायतका जिल्ला र क्षेत्रमा विशेष प्रभाव पार्‍यो । जसले भारतीय साम्राज्यवादी हस्तक्षेप र नेपाली नागरिकमाथि हुने ज्यादतीका विरुद्ध भण्डाफोर गर्‍यो ।

चार कम्युनिस्ट पार्टीद्वारा धामीको हत्याबारे निन्दा र भत्सर्ना

नेपालका चार कम्युनिस्ट पार्टीले जयसिंह धामीको घटनालाई लिएर उक्त घटना अमानवीय,आततयी र बर्बरतापूर्ण भएको भन्दै कडा निन्दा र भ्रत्सर्ना गर्‍यो । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी),ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले साउन १६ गते संयुक्त विज्ञप्ति जारी गरी उक्त घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षड्यन्त्र भएको भन्दै बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न र दोषीलाई कडा भन्दा कडा कारबाही नगरे जनसङ्घर्ष गर्ने चेतावनी दियो । जसले भारतीय शासक वर्ग र नेपालका अन्य क्रान्तिकारी कम्युनिस्ट भन्ने शक्तिहरूको चार कम्युनिस्ट पार्टीप्रति ध्यानाकर्षण गरायो ।

चार कम्युनिस्ट पार्टीद्वारा जारी प्रेस विज्ञप्तिको अन्त्यमा भनिएको थियो-‘मालाघात तुइन घटना नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वनिर्णयको अधिकारको विरुद्ध हेपाहा र षड्यन्त्रमूलक घटना भएको हुनाले राष्ट्रिय मुक्ति र जनमुक्तिका पक्षधर आम नेपाली जनतालाई यसको डटेर प्रतिरोध गर्न विशेष आह्वान गर्दछौँ।’

दार्चुला घटनामा एसएसबी दोषी : जनअधिकार अभियान

जनअधिकार अभियान नेपालले सार्वजनिक गरेको जयसिंह धामीको घटनाको स्थलगत प्रतिवेदनका अनुसार भारतीय एसएसबीले तुइन फुस्काइदिएपछि धामी महाकाली नदीमा खसी बेपत्ता भएको कुरा पुष्टि ग¥यो । जनअधिकार अभियान नेपालले साउन २७ गते काठमाडौँमा पत्रकार सम्मेलनमार्फत प्रतिवेदन सार्वजनिक गर्दै उक्त घटनाको पुष्टि गरेको थियो।

जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले सहजीकरण गरेको कार्यक्रममा दार्चुला घटनाको स्थलगत अनुगमन गरेका सन्तोष कोइरालाले प्रतिवेदन सार्वजनिक गर्दै जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी, धामीका परिवार र स्थानीयसँग बुझ्दा उक्त कुरा पुष्टि भएको बताएका थिए ।

प्रतिवेदनमा भनिएको छ-‘बेपत्ता पारिएका जयसिंह धामीको अवस्था तत्काल पत्ता लगाई परिवारलाई जिम्मा लगाइयोस्, पीडित परिवारलाई शिक्षा, स्वास्थ्य तथा रोजगारको तत्कालै प्रबन्ध गरियोस्,साथै राज्यले अभिभावकत्व ग्रहण गरोस्,परिवारलगायत स्थानीय जनतामा खाद्य सङ्कट लगायतका सामाजिक सांस्कृतिक आवश्यकताको परिपूर्ति गरियोस्,स्थानीय जनतामा रहेको त्रास र मनोवैज्ञानिक असरलाई व्यवस्थापन गर्नका लागि तत्काल पहल गरियोस्,भारत र नेपालका सम्पूर्ण सिमाना सम्बन्धी विवादहरूलाई कुटनीतिक पहलका साथ तत्कालै समाधान गरियोस्, नेपाल सरकार तर्फबाट आधिकारीक र औपचारिक प्रतिवेदन तत्कालै सार्वजनिक गरियोस।’

दार्चुलाका जयसिंह धामीको घटना मात्र होइन,यसअघि पनि नेपालका विभिन्न सिमा नाकाहरूमा यस्ता दर्जनौं घटनाहरू भएका छन् । जहाँ भारतीय एसएसबीले ठाडो हस्तक्षेप गर्दै आएको छ, बेलाबेला । २०७३ फाल्गुन २६ गते सिमा विवादको विषयमा भारतीय एसएसबीहरूले कल्भर्टलाई निहुँ बनाएर कञ्चनपुरमा गोविन्द गौतमको गोली हानी हत्या गरेका थिए । यसको प्रतिरोधमा पनि सरकारले शसक्त भूमिका निर्वाह गर्न सकेन । २०६७ सालमा भारतीय एसएसबीले बर्दियाका स्थानीय हर्कबहादुर शाहीलाई नियन्त्रणमा लिई हत्या गरेको थियो । यस्तै बर्दिया गुलरियाका राम दुलारेलाई पनि हत्या गरेर भारतले आफ्नो नाङ्गो चरित्र र दादागिरी देखाएको थियो ।

नेपालको सन्दर्भमा भारतीय साम्राज्यवादी हस्तक्षेप एक प्रमुख चुनौतीका रुपमा देखा पर्दै आइरहेको छ । यो चुनौतीलाई राष्ट्रिय विषयको रुपमा बोध गरि यसको विरुद्ध निर्मम संघर्ष गर्नु आजको पहिलो आवश्यकता बन्न गएको छ । नेपालका विभिन्न सिमा नाकाहरूमा भारतीय सिमा सुरक्षा बलले सिमा पिल्लरहरू गायब गरेको छ । कहिले सिमा पिल्लरहरू सारिदिन्छ अनि कहिले नेपालीको घरघरमा हतियार सहित घुसेर तर्साइरहन्छ, भारतीय एसएसबी । यति हुँदा पनि सिमा नाकामा बसेका नेपालीहरू भारतीय एसएसबीसँग लडिरहेका छन् । त्यसैले सिमा नाकामा देखिएका सिमा विवादहरूका समस्या समयमै समाधान हुन जरुरी छ । कहाँ छन्,हाम्रो गायब गरिएका पिल्लरहरू ? कहाँ हो हाम्रो सिमा नाका ? यो भनिदिनुपर्छ नेपाल सरकारले । पटकपटक सिमाको लडाइँमा कहिलेसम्म नेपाली जनताले ज्यान गुमाइरहने ? कहिलेसम्म उनीहरू सिमा अतिक्रमणमा परिरहने ? अनि कहिलेसम्म आँसु चुहाएर सिमामा रोइरहने ? यो नेपालका संसदवादी दलहरूले बुझनुपर्छ, चाँडै ।

(लेखक:प्रदीप राहादी मगर बुटवलबाट प्रकाशित लालदिशा पत्रीकाको दोस्रो अङ्कमा प्रकाशित लेख हो। लेखक जनपत्रकार संगठन नेपाल,रुपन्देही जिल्ला संयोजक हुन् ।)

प्रकाशित मिति : २०७८ भाद्र २८ गते सोमवार