ट्रेन्डीङ्ग

संचारकर्मी अमृता आमाको किरिया गर्दै

पुजा लम्साल साउन ४ सुनवल ।

अक्सर आमा-बुवाको काज-किरिया छोराले गर्ने चलन छ । तर, पछिल्लो समय छोरी पनि अन्तिम संस्कारसहित काज-किरियामा सहभागि हुन थालेका छन् । पश्चिम नवलपरासीमा आफ्नी आमाको मृत्युपश्चात् छोरी हिन्दू संस्कारअनुसार काज किरियामा छिन् ।

छोरी क्रिया बस्नु हुँदैन भन्ने परम्परागत अन्धविश्वासलाई तोड्दै जिल्लाको सुनवल नगरपालिका वडा नं ६ विसासय पुल टोल निवासी अमृता सुनारले आफ्नी आमाको क्रिया गरिरहनुभएको छ ।

विगत २/३ वर्ष अघि देखी मिर्गौलामा समस्या देखीएर उचारत रहनुभएकी आमा गंगाकुमारीको उपचारका क्रममा यहि असार २८ गते निधन भएपछि अमृता क्रिया बस्नुभएको हो ।

छोराले मात्रै क्रिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आफ्नी आमाको क्रिया बसेपछि अहिले धेरैले यो विषयलाई निकै चासोका साथ हेरेका छन् । यस्तो घटना समाजका लागि उदाहरणीय मानिन्छ ।

परिवारमा दाजुभाई नभए पछि र छोरीले आमाको क्रिया बस्ने अठोट लिएपछि पारिवारिक सल्लाहमै मृत्युपश्चात्को संस्कार पूरा गर्ने जिम्मेवारी छोरीलाई दिइएको हो । ‘आफूलाई जन्मदिने आमाको दाग बत्ति दिन्छु र क्रिया गर्छु भनेर अठोट लिएपछि पारिवारिक सल्लाहमै छोरीलाई काज किरिया गर्न अनुमति दिइएको हो’ बुवा कृत बहादुरले भन्नुभयो ।

समाजले काजक्रियाका लागि छोरा नै हुनुपर्छ भन्ने मान्यता राख्ने गरेको छ भने छोरा नहुनेको हकमा घरभित्रकै नजिकको व्यक्तिलाई किरिया गर्न लगाउने गरेको छ । समाजमा छोरा र छोरी बीच हुने विभेदलाई चुनौती दिँदै अमृताको निणर्यले समुदायमा छोराछोरी दुवै समान हुन् भन्ने सकारात्मक सन्देश दिएको छ । अमृताले क्रिया गर्दा कपाल खौरने बाहेक अरु सबै विधि पूरा गरिरहनुभएको छ ।

अमृता विगत ३ वर्ष देखी पश्चिम नवलपरासीको सुनवलमा रहेकोे सामुदायिक रेडियो सुनवलमा कार्यरत हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?