ट्रेन्डीङ्ग

गल्याङ नगरपालिकाद्वारा पिडिखोलाका ८० परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण

असार २०
गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले वडा नम्बर ६ का परिवारलाई बाख्रा तथा घाँसको विउ वितरण गरेको छ । नगरपालिकाका किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाले उन्नत जातका बोका बाख्रा वितरण गरेको हो ।
६ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष टिकाराम भूषालले किसानहरुलाई आत्मनिभर र व्यवसायिक बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषि र पशुको क्षेत्रमा नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको भन्दै त्यसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडाध्यक्ष भूषालले किसानलाई आवश्यक अन्य कुराहरु पनि नगरपालिकाबाट सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्यालले खरी तथा बोयर जातका बोका वितरण गरिएको जानकारी दिनुभयो । उहाँले उन्नत जातका बोकाबाट व्यवसायितक रुपमा अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो । अर्यालले बाख्राका लागि आवश्यक घाँस पनि सँगै वितरण गरी दानाको खपत कम गर्ने लक्ष राखिएको बताउनुभयो ।
सो अवसरमा सुपर नेपियर, मोलाटो, गवाटेमाला, बदामे, राइखनियो लगायतका घाँसका विउ वितरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता गर्नुभएका पिडिखोला कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देविलाल पाण्डेले प्राप्त बोका र घाँसको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?