ट्रेन्डीङ्ग

गल्याङ:राइट फर चिल्डे्रनद्वारा साढे ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २५ गल्याङ । राइट फर चिल्डे्रनले गल्याङ नगरपालिकालाई साढे ७ लाख रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा रहेको यो संस्थाले कोभिड संकट व्यवस्थापनका लागि भन्दै स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

गल्याङ नगर अस्पतालमा संस्थाका कार्यक्रम अधिकृत तथा नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले नगरपालिकाका प्रमुख भुपराज अधिकारीलाई ४ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । यस्तै, न्यौपानेले मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा वडा नम्बर १ का अध्यक्ष गणेश बस्याल तथा अस्पताल प्रमुख डाक्टर सन्जना भण्डारीलाई साढे तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
नगर अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर मेसिन, अक्सिजन फ्लोमिटर, पञ्जा, मास्क, थर्मोमिटर, थर्मल गन सहितका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

 

सामाग्रीहरु ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख तथा गल्याङ नगर अस्पतालका अध्यक्ष भुपराज अधिकारीले संस्थाबाट भएको सहयोगले गल्याङ नगरवासीका लागि महत्वपूणर् टेवा पुग्ने बताउनुभयो ।
उहाँले अस्पतालमा अहिले विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था भैरहेको भन्दै कोही पनि नागरिकलाई उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘विपन्न परिवार विरामी भएमा घरमै गएर अस्पताल सम्म ल्याइ निशुल्क उपचार गर्ने निणर्य कार्यपालिकाबाट नै भएको छ ।’ उहाँले नगरवासी कहीं विरामी अवस्थामा रहे खबर गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।


अहिले सक्नेले नसक्नेलाई सहयोग गर्ने समय भएको भन्दै उहाँले अस्पतालले खरिद गर्नुपर्ने औषधीहरु सक्ने व्यक्तिले खरिद गरि उपचार गर्दा त्यसको आलोचना हुन नहुनेमा जोड दिनुभयो ।
नगर अस्पतालमा बेड तथा अक्सिजन सबैका लागि निशुल्क रहेको दोहोर्याउँदै उहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले आलोचना मात्रै भन्दा पनि सकारात्मक सुझाब दिएर नगरवासीको स्वास्थ्य बलियो बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थाका कार्यक्रम अधिकृत तथा यसै नगरपालिका वडा नं २ चिर्तुङ्ग निवासी विनोद न्यौपानेले महामारीको बेला आफ्नो सानो सहयोगले पनि केही राहत मिल्ने आशा सहित संस्थाले सहयोग गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ३ का अध्यक्ष महेश भट्टराई, अस्पतालका प्रमुख प्रशासक थानापति न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

मालुङ्गामा गरिएको कार्यक्रममा वडाध्यक्ष तथा नगर प्रबक्ता गणेश बस्यालले संस्थाको सहयोगले विरामीको उपचारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?