ट्रेन्डीङ्ग

गल्याङमा स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता

जेठ २ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा स्वास्थ्य सामाग्री सहित औषधी वितरणको कामलाई तिब्रता दिइएको छ ।

कोरोना भाइरस (कोभिड १९) को महामारी तिब्र गतिमा फैलिरहेको बेला नगरपालिकाले स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता दिएको हो ।

नगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा आवश्यक औषधीको कमी हुन नदिन आवश्यक औषधी पठाइएको गल्याङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले औषधीको कमी हुन नदिन नगरपालिकाका सबै ठाउँमा औषधी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो -‘अहिलेको विषम परिस्थितिमा नगरवासीलाई बचाउनु पहिलो प्राथमिकता बनेको छ । यसका लागि हामी अहिले ग्रामिण क्षेत्रका नागरिकका लागि पनि उत्तिकै ध्यान दिइरहेका छौं ।’
नगरपालिकाका ग्रामिण क्षेत्रमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र गतिमा फैलिएपछि अहिले स्वास्थ्य सामाग्री सहित औषधीहरु पनि वितरण गरिरहेको छ ।

नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा आधारभूत औषधीको व्यवस्थापन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले जानकारी दिनुभयो । बढि सम्भावित मानिएका क्षेत्रहरुमा ग्रामिण क्षेत्रमा नै पुगेर स्वास्थ्य सामाग्री र औषधी वितरण पनि गरिएको छ । शनिबार मात्रै नगरपालिका प्रमुख भुपराज अधिकारी र स्वास्थ्य शाखाका सिनियर अहेब विपिन कोइराला वडा नम्बर ९ को मनहरीमा पुगेर स्थानीयलाई स्वास्थ्य सामाग्री एवम औषधी वितरण गर्नुभएको थियो ।

यसैबीच,गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले धैर्य रहन नगरवासीलाई आह्वान गर्नुभएको छ । उहाँले केही ठाउँहरुमा स्थानीयबासी बढि हतोत्साहित बनेको देखिएको भन्दै उहाँले आत्मबल बलियो बनाएर कोरोना विरुद्वको लडाई जित्न सकिने बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो-‘कोरोना लागिहाले पनि धेरैलाई निको भएको अवस्था छ । त्यसैले जटिल अवस्था नआउँदै उपचारमा लाग्नुपर्छ ।’
उहाँले गल्याङ नगर अस्पतालमा अक्सिजन सहितको सबै व्यवस्था भएको भन्दै नआत्तिन तर सतर्क रहन आह्वान गर्नुभयो ।

सबै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका सधैं प्रतिबद्व रहेको भन्दै उहाँले कुनै पनि समस्या भएमा स्वास्थ्य कार्यालय वा नगरपालिकामा सम्पर्क गर्न आह्वान गर्नुभयो ।
गल्याङ नगरपालिकामा हालसम्म ७८ जना संक्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?