परासी, २९ बैशाख। समाचारको विषयलाई लिएर रामग्राम नगरपालिकाले लगाएको आरोप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले गंभिर ध्यानआकर्षण भएको जनाएको छ ।

रामग्राम नगरपालिकाले आइसोलेसनका लागि भन्दै लगेका ५० वटा अक्सिजन शिलिण्डरहरु चौरमा छरपस्ट देखेपछि सुरक्षाको कारण देखाउँदै सोमबार राति प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसहित सुरक्षकर्मीहरुको टोलीले नियन्त्रणमा लिएर गएको थियो ।

प्रशासनले शिलिण्डरहरु लिएर गएपछि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले विज्ञप्ती निकालेर प्रशासनले १० वटा भरेका र ४० वटा खाली गरी ५० वटा शिलिण्डर मध्यरातमा ‘कब्जा’मा लिएको जनाएका थिए ।

सोही विषयको समाचार विभिन्नि सञ्चारमाध्यमा प्रकाशित भएपछि नगरप्रमुख गुप्ताले पत्रकार महासंघको वर्तमान र पूर्व नेतृत्वसहित सञ्चारकर्मीले भ्रामक समाचार सम्प्रेषण गरेको र भूमिका समेत खेलेको भन्ने गंभिर आरोप लगाएका थिए । उक्त आरोपप्रति आपत्ति जनाउँदै बुधबार पत्रकार महासंघका अध्यक्ष हरि शर्मा र सचिव राज कुमार रेश्मीले प्रेस विज्ञप्ती निकालेर ध्यानआकर्षण भएको जनाएका हुन् ।

समाचार स्रोत, तस्बिर र भिजुअलसहित समाचार बाहिर आएपछि आलोचना खेप्न नसकेका नगर प्रमुख गुप्ताले सञ्चार क्षेत्रलाई दोष दिएर उम्किन खोजेको आरोप विज्ञप्तीमा लगाइएको छ । उक्त आरोप आपत्ति र खेदजनक रहेको महासंघले निकालेको विज्ञप्तीमा जनाइएको छ ।

आफूले गरेको कमजोरी र लापरबाहीबाट उम्किन समग्र सञ्चार क्षेत्रलाई दोष दिनु नगर प्रमुख गुप्ता आफ्नो दायित्वबाट उम्किन खोजेको पत्रकार महासंघले निकालेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रशासनले शिलिण्डर नियन्त्रणमा लिएर जानुमा महासंघ र सञ्चारकर्मीको के भूमिका हुन्छ ? भनि विज्ञप्तीमा आश्चर्य प्रकट गरिएको छ ।

कोरोना संक्रमणको यो विषम परिस्थितिलाई सामाना गर्न सबै क्षेत्रको सहयोग अपरिहार्य रहन्छ भन्दै महासंघले निकालेको विज्ञप्तीमा त्यस कार्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा, जिल्लाका सञ्चारकर्मी र सञ्चारगृहहरुको सधैंव सहयोग र साथ रहने प्रतिबद्धता समेत जनाइएको छ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार