विषय प्रवेश
आज विश्वमा देखापरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, प्राकृतिक, पर्यावरणीय सङ्कटहरूले सिङ्गो मानव जाति आक्रान्त बनिरहेको छ । प्रकृति विज्ञान गतिशील एवम् परिवर्तनशील छ । प्रकृति स्वसिर्जित हो । प्रकृतिले परिवर्तनद्वारा आफ्नो विकास गर्दछ । प्रकृति आफ्नै नियममा सञ्चालित छ । संसारका हरेक वस्तु, जीव, घटनाहरू आदि सबै प्रकृति र समाज विज्ञानसँग सम्बन्धित छन् । प्रकृतिको गति र परिवर्तनले पृथ्वीमा मानव जीवनको विकास सम्भव भएको हो । मानव जाति कुनै अदृश्य एवम् अलौकिक दैवी प्रपञ्च नभएर प्रकृतिको सृष्टि हो । प्रकृति विज्ञान र समाज विज्ञान मात्र होइन, विज्ञानका सबै शाखाहरू र अध्ययनका विषयहरू अन्योन्याश्रित छन् । प्राकृतिक विज्ञानले प्रकृति र भौतिक संसारको व्यवस्थित अध्ययन र ज्ञान गराउँछ । यसको प्रयोग वास्तवमा प्रायः सधैँ प्राकृतिक विज्ञान (भौतिकी, रसायन र जीवशास्त्र) मा गरिन्छ । सामाजिक विज्ञानले मानव समाजको बनावट र मानव जातिका सम्पूणर् क्रियाकलापहरूसित सम्बन्धित (इतिहास, अर्थशास्त्र र समाजशास्त्र) अध्ययन गर्दछ । चल्ला र अन्डामा, चल्ला पहिलो हो । प्रकृति र मानवमा, प्रकृति नै पहिलो हो । प्रकृतिको सम्भाव्यता नै मानव जीवनको वास्तविकता हो । विभिन्न कालखण्डमा वनस्पति र प्राणीहरूको उद्विकास भएको हो । एककोषीयबाट बहुकोषीय जीवात्माको विकास नै अहिलेको विकसित मानव जाति हो । मानव जातिको व्यवस्थित ज्ञान अथवा विद्या विज्ञान हो । विज्ञान कुनै विषयवस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययनको ज्ञान हो । मानव जातिको चेतनाले विज्ञानको विकास भयो जसमा अवलोकन, अध्ययन र प्रयोग अनिवार्य छ । त्यसका विषय प्रकृति र सिद्धान्तहरू हुन् । त्यो विज्ञानले नै आजको प्रविधिको विकास भएको छ ।
विज्ञान प्रविधिले नयाँ सम्भवनाहरूको अध्ययन, अनुसन्धान र अन्वेषण मात्र होइन, कयौँ सम्भावनाहरूलाई वास्तविकतामा बदलिरहेको छ । साथै नयाँ-नयाँ सम्भावनाहरूको खोजी पनि भइरहेका छन् । मानव जाति चन्द्रमामा पुग्यो । आज मङ्गलग्रहलगायत अन्य ग्रहहरूको सम्भाव्यताको अध्ययन भइरहेका छन् । विज्ञान प्रविधिको विकास र प्रयोगले विश्व एउटा गाउँमा परिणत भएको छ । धेरै विषयहरू मानवजस्तै देखिने रोबोट; गुगलले बनाएको मोबाइल फोनको सफ्टवेरमा संकेन्द्रित भएका छन् । विज्ञान प्रविधिको विकास र प्रयोगले मानव जातिका लागि तमाम प्रतिकूलताहरूलाई अनकूलतामा बदलेको छ । परन्तु प्राकृतिक प्रकोप र सामाजिक सङ्कटको कारक पनि बनिरहेको छ । विज्ञान प्रविधिलाई मानव जातिले सही ढङ्गले प्रयोग गरे बरदान र गलत प्रयोग गरेमा अभिशाप हुनेछ ।
मानव जातिले बाँच्न र अस्तित्वका लागि प्रकृतिसँग सङ्घर्ष र भौतिक मूल्यको उत्पादनका निम्ति प्रकृतिको प्रयोग गर्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणबाट हेर्दा प्रकृतिसँगको सङ्घर्षमा मानव जातिको सामाजिक सम्बन्ध, सामाजिक सङ्गठनका रूप र मानवचेतनामा व्यापक परिवर्तन भइरहेको छ । सामाजिक जीवन र भौतिक परिवेशले मानिसको चेतना निर्धारण गर्दछ । चेतना पदार्थको प्रतिबिम्ब हो । भौतिक जगत् पहिलो र मानवचेतना दोस्रो हो । क्रान्तिकारी कम्युनिस्टहरूले विश्वका हरेक घटना, महासङ्कट, महान् सम्भावना र गम्भीर चुनौतीहरूलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा विश्लेषण र संश्लेषण गर्न जरुरी छ ।

प्राकृतिक सङ्कट

पृथ्वी, अन्तरिक्ष, ग्रह-नक्षत्र आदिले युक्त एवम् अनन्त रहेको विश्वब्रहाण्डका विषयमा विभिन्न वैज्ञानिकहरूले निरन्तर अवलोकन, अध्ययन, अनुसन्धान र अन्वेषण गरिरहेका छन् । वैज्ञानिकहरूका अनुसार आजभन्दा १३.७ अर्ब वर्षपहिले एउटा धमाकाका रूपमा यो ब्रह्माण्डको उत्पत्ति, चार अर्ब ५४ करोड वर्षपहिले सूर्यबाट पृथ्वीको उत्पत्ति भएको मानिन्छ । सुरुमा तातो पृथ्वी सेलाउदै जाँदा उत्पन्न भएको वाष्पबाट करोडौँ वर्षसम्म भएको वर्षाबाट समुद्रहरू बने । पृथ्वीमा समुद्रहरू आजभन्दा ४ अर्ब ४१ करोड वर्षपहिले अस्तित्वमा आइसकेको मानिन्छ (‘पृथ्वीको उमेर’ ९ जुलाई २००७ मा संयुक्त राज्य अमेरिकाको भौगोलिक सर्वेक्षण) । पृथ्वीमा ३ अर्ब ४८ करोड वर्ष पुरानो ब्याक्टेरियाको अस्तित्व भेटिएको थियो । त्यो सूक्ष्म जीवाणु झन्डै ४ अर्ब ५ करोड वर्षपहिले नै अस्तित्वमा थियो । २६ सेप्टेम्बर, २०१९ मा वैज्ञानिकहरूले जीवनको सबभन्दा सुरुका लक्षणहरू र ९ अक्टोबर, २०२० मा न्यु साउथ वेल्स युनिभर्सिटीका वैज्ञानिक युरेकालेर्टले पुराना चट्टानहरू माक्रोवियल अवशेष फेलापारेका थिए । झन्डै २ अर्ब वर्षपहिले नाभीकण (न्युक्लियस) भएको जीवाणु अस्तित्वमा आयो । जीव नै पहिला आयो । त्यसले पुनरुत्पादन प्रक्रियाबाट वंश वृद्धि गर्न थाल्यो । झन्डै ४ अर्ब वर्षपहिले बानरहरूको पहिलो प्रजाति विकसित भएको मानिन्छ । १ करोड ८० लाख वर्षपहिले बानरहरूको प्रजातिबाट ढेडुको छुट्टै प्रजाति विकसित भयो । १ करोड ४० वर्षपहिले बानरहरूको समूहबाट ओराङ ओटान अलग्गियो । ७० लाख वर्षपहिले गोरिल्ला र चिम्पान्जीहरू अस्तित्वमा आएको मानिन्छ । झन्डै ६० लाख वर्षपहिले नरबानर (मान्छेजस्तो देखिने बानर) ले आफूलाई बानरहरूको समूहबाट अलग गर्‍यो र नरबानरको प्रजाति अस्तित्वमा आयो । जीव विकासका क्रममा नरबानर आजभन्दा झन्डै ३ लाख वर्षपहिले मानिसका रूपमा (होमो सेपियन्स) देखापर्‍यो । योजनाबद्ध श्रम गर्ने प्रक्रियामा नै बानर मानिसमा रूपान्तरण भएको थियो । फ्रेडरिक एङ्गेल्सको प्रकृतिको द्वन्द्ववाद (डाइलेक्टिक्स अफ नेचर) पुस्तकमा बानरबाट नर बन्ने क्रममा श्रमले निर्वाह गरेको भूमिका (द रोल प्लेड बाई लेबर इन दि ट्रान्जिसन फ्रम एप टु म्यान) उल्लेख छ । दुई अर्ब वर्षपहिले प्रारम्भिक जीवहरूको उत्पत्ति र मान्छेका रूपमा परिवर्तन एक लाख वर्ष पूरा भएको उल्लेख गरेका छन् । सर्वप्रथम कोपरनिकस (१४७४-१५४३) ले सूर्यलाई पृथ्वीको केन्द्र मानेर पृथ्वी गोलो छ भनेका थिए । त्यसपछि ग्यालिलियोले (१५६४-१६४२) पृथ्वी गोलो छ भनेर पुष्टि गरेका थिए । वैज्ञानिकहरूले पृथ्वीको आयु ४ अर्ब ६० करोड वर्ष रहेको अनुमान गरेका छन् ।

जर्मनीका एमजी स्लेइडेन र टी स्वान(१८३८-१८३९) ले वनस्पतिकोश तथा पशुकोश पत्ता लगाएका थिए । बेलायती प्रकृतिशास्त्री चाल्र्स रोबर्ट डार्बिनको ‘अन द ओरिजिन अफ स्पिसिज’ सन् १८५९ मा प्रकाशित पुस्तकमा उल्लिखित ‘विकासवादको सिद्धान्त’ आधुनिक विज्ञानको एउटा आधारशिला हो । त्यसमा ‘प्राकृतिक छनोट’ को प्रक्रियामार्फत जीवहरू समयअनुसार क्रमशः परिवर्तन हुँदै जान्छन् भन्ने विषयले मानिसहरूको बुझाइमा क्रान्ति ल्याएको थियो । डार्बिनले क्रमिक विकासलाई ‘संशोधनसहितको वंश’ हो भनेर कसरी विभिन्न जीवहरू साझा पुर्खाहरूबाट विकास हुँदै आए भन्ने पुष्टि गरेका थिए । उनले नै विस्तृत र स्पष्ट व्याख्यासहितको जीवविज्ञानको विकास गरेका थिए । डार्बिनका समकालीन वैज्ञानिक विलियम ड्रापरले सन् १८७८ मा क्रमिक विकासको महमेदान सिद्धान्तका बारेमा पनि बोलेका थिए । यद्यपि डार्बिनभन्दा एक हजार वर्षअघि इराकी दार्शनिक अल-जहिज (वास्तविक नाम- अबु उस्मान आम्र बहर अल्कामनी हो जसको अर्थ- आँखाको नानी बाहिर निस्किएको मान्छे) ले जनावरहरू कसरी प्राकृतिक छनोटअनुसार एउटा प्रक्रियाबाट परिवर्तन हुन्छन् भन्नेबारे ‘अल-हेवान’ अर्थात् ‘जीवहरूबारे’ (द बुक अफ एनिमल्स) भन्ने पुस्तकमा ‘जनावरहरू मारिनबाट बच्न र वंश परम्परा धान्नका निम्ति अस्तित्व रक्षा र स्रोतहरूका लागि सङ्घर्षमा सहभागी हुन्छन्’ भनेर डार्बिनको विकासवादी सिद्धान्तसँग समान विषयहरू उल्लेख गरेका थिए । उनले थप व्याख्या गर्दै ‘वातावरणीय तत्वहरू जीवहरूलाई आफ्नो अस्तित्व सुनिश्चित गर्न नयाँ विशेषताहरू विकास गर्न प्रभावित गर्छन् जसले गर्दा उनीहरू नयाँ प्रजातिमा परिवर्तन हुन्छन् । वंश परम्पराका लागि जीवित रहने जीवहरूले उनीहरूका सन्तानहरूमा सफल विशेषताहरूलाई हस्तान्तरण गर्ने गर्छन्’ भन्ने विषय उल्लेख गरेका थिए ।

विश्व-साम्राज्यवादको सङ्कट

पुँजीवादी विद्वान्हरूले आजको प्राकृतिक सङ्कटको कारण मानव जातिलाई मात्र दोष दिइरहेका छन् । यो सङ्कटको मूल कारण मानव जाति मात्र नभएर पुँजीवाद वा विश्व-साम्राज्यवाद स्वयम् हो । यसले ब्रह्माण्डमा विनाशकारी प्रभाव पारिरहेको छ । अहिले विश्वमा पैदा भएका राजनीतिक, आर्थिक, सामाजिक, प्राकृतिक आदि सङ्कटको मूल कारण विश्व-साम्राज्यवाद नै हो । खाना र ऊर्जाको असीमित आवश्यकता, जमिनको अवैज्ञानिक प्रयोग, बेलगाम बनजङ्गलको फडानी, डढेलो, जैविक विविधताको विनाश, जैविक इन्धन र माछा तथा कृषि उद्योगमा दिइने विनाशकारी अनुदान सहायता, अप्राकृतिक, प्रदूषित एवम् हानिकारक गतिविधिहरू सञ्चालन, प्राकृतिक सम्पदाको अनियन्त्रित उत्खनन, दोहन, उत्पादित वस्तुहरूको जथाभाबी प्रयोग, हरित ग्याँसको उत्सर्जन आदि प्राकृतिक सङ्कटका मुख्य कारणहरू देखिन्छन् ।

तीव्र गतिमा प्रकृति खस्किँदै गएको छ । अन्नबाली सेचन, बाढी रोक्ने जङ्गल, मानव जातिले समाजलाई टेवा दिने पर्यावरणीय प्रणाली नकारात्मक ढङ्गले प्रभावित भइरहेको छ । विगत पाँच दशकयता पृथ्वी धेरै प्रभावित भएको छ । सन् १९७० देखि विश्वको जनसङ्ख्या दोब्बर, अर्थतन्त्र चार गुणा र कारोबार दस गुणाले बढेको छ । खाना, कपडा र ऊर्जा दिन विशेषगरी ऊष्ण क्षेत्रमा बनजङ्गल विस्मयकारी ढङ्गले हराएका छन् । सन् १९८० देखि २००० बीचमा मात्र दस करोड हेक्टर ऊष्ण जङ्गल फडानी भएको छ । दक्षिण अमेरिकामा गाईबस्तुपालन र दक्षिणपूर्वी एसियामा ताडीको रूख खेती त्यसको मुख्य कारण रहेको छ । सन् १७००-२००० मा जङ्गलभन्दा धेरै रहेको सिमसार क्षेत्र १३ प्रतिशत मात्र अस्तित्वमा छ । प्रजातिहरूको ठूलो सङ्ख्या लोप र करिब २५ प्रतिशत पशु र वनस्पति जोखिममा छन् । जैविक विविधता र प्रकृति अभूतपूर्व रूपले विनाश भइरहेको छ । २५ प्रतिशत प्रजाति लोप, ४७ प्रतिशत प्राकृतिक प्रणाली र ८३ प्रतिशत बायोमास र प्रजातिको प्रचुरता खस्किएको छ । ७२ प्रतिशत मानवसमुदायले विकास गरेका सूचक एवम् प्राकृतिक महत्वपूणर् तत्वहरू नास भएका छन् । वायुमण्डल प्रदूषित, ओजनतह पातलो, हिमखण्ड पग्लिने र समुद्री सतह बढ्ने मात्र होइन, सम्पूणर् पृथ्वी एवम् ब्रह्माण्डमा नै नकारात्मक प्रभाव र कहालीलाग्दा परिणामहरू देखापरिरहेका छन् । त्यसैले नयाँ र खतरानाक जीवाणुहरू पैदा हुने र सम्पूणर् जीवहरूसहित मानव जातिलाई विनाश गर्ने समस्याहरू पैदा भइरहेका छन् । मानवस्वास्थ्यमा गम्भीर आघात गर्ने विभिन्न खालका रोगहरू पैदा हुने र महामारीका रूपमा फैलिरहेका छन् । पुँजीवादी देशहरूले ८० प्रतिशतभन्दा बढी पर्यावरणीय प्रदूषण फैलाउने गरेका छन् । विश्व-साम्राज्यवादले मुनाफा, धन आर्जन र बजार नियन्त्रण मात्र गर्दछ । त्यसले मानव जातिलाई प्राकृतिक प्रकोपबाट सुरक्षा दिन सक्दैन, बरु भयावह सङ्कट एवम् चुनौतीहरू थोपर्न सक्छ भन्ने वास्तविकता कोरोना भाइरसको महामारीले खुलस्त पारिदियो । ‘हामी आफ्नो लोभ र मूखर्ताले स्वयम्लाई नष्ट गर्ने खतरा मोलिरहेका छौँ’ भन्दै एक सय वर्षभित्र मानव बस्न मिल्ने अर्को ग्रह खोज्न स्टेफन हकिङले आग्रह गरेका थिए । उनले आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ मा विश्व-तापमान, नयाँ भाइरस र पुच्छ्रेताराको असरबाट मानव जीवन अन्त्य हुने भविष्यवाणी गरेका थिए । वैज्ञानिकहरूले पृथ्वीको आयु ह्वात्तै घट्ने र एक हजार वर्षपछि मानव बस्न नमिल्ने चेतावनी दिँदै आइरहेको विषय विशेष स्मरणयोग्य छ ।

माक्र्स र पर्यावरण

औद्योगिक समाज र त्यसले वातावरणमा पुर्‍याएको असरबारे माक्र्सवादीहरूको दृष्टिकोण के हो ? भन्ने विषयमा कहिलेकहीँ चर्चा चल्ने गर्दछ । फ्रान्सेली-ब्राजिली समाजवादी मिचेल लोवीले माक्र्सवादीहरूले सरल विकासक्रम (लिनिएर प्रोगेसर) को विचारधारा र आधुनिक औद्योगिक सभ्यताको प्राविधिक र आर्थिक आयामको गम्भीर पुनर्विचार गर्नुपर्ने बताएका थिए । पर्यावरणबारे माक्र्सले शक्तिशाली र अनुकूल अवधारणा दिनुभएको थियो भन्ने पुष्टि भएको छ । पर्यावरणबारे जीवनका अन्तिम दशकमा माक्र्सले गहन विचार दिनुभएको थियो, माक्र्सवादलाई प्रकृतिसँग जोडेर हेर्ने विचार अप्रकाशित एवम् छायामा परेको छ भनी जोन बेलामी फोस्टरले भनेका छन् । साठी र सत्तरीको दशकमा समाजवादी पर्यावरणवादी एलान थ्रोनेटको ‘फेसिङ द एपोक्लेप्स ः आर्गुमेट्स फर इकोसोसियलिज्म’ (२०१९) पुस्तकमा विस्तृत उल्लेख गरिएको छ । असीको दशकमा टेड बेन्टन र इल्मर अल्भटरका ‘क्यापिटालिज्म नेचर सोसियलिज्म’ कृति र जर्नल प्रकाशन हुन थालेपछि माक्र्सवादी पर्यावरणबारे विचारले मूर्तता पाएको थियो । जोन बेलामी फेस्टरले ‘माक्र्स इकोलोजी’ (२०००) र पल बुर्केटको ‘माक्र्स एन्ड नेचर’ (१९९९) कृतिले पुँजीवादबारे माक्र्सको धारणा पर्यावरणवादी रहेको विश्लेषण गरेका छन् । माक्र्सको विचारमा पुँजीवाद नाफा र पुँजीका लागि स्वयम्मा स्वाभाविक सीमितता भएको प्राकृतिक स्रोतको असीमित दोहनमा आधारित छ । कोहे साइतोले ‘कार्ल माक्र्स इको-सोसियलिज्म’ पुस्तकमा माक्र्सका सन् १८६५-१८६८ सम्मका अप्रकाशित टिपोटहरूको उल्लेख गर्दै माक्र्सको पर्यावरणका प्रमुख प्रणालीगत विशेषताको व्याख्या गरेका छन् । सन् १८६० को दशकमा पुँजीको पहिलो खण्ड प्रकाशित भएपछि माक्र्सले प्राकृतिक विज्ञानको गम्भीर अध्ययन थाल्नुभएको थियो । सन् १८६८ का तीनवटा नोटमा कृषि रसायनशास्त्र, भूक्षय, बन विनाश, प्राणी विज्ञान, भूमिको तिरो, पुँजीवादी कृषि, जलवायु, ग्रामीण क्षेत्रमा सामाजिक सम्बन्धका साथै पुँजीवादी समाज र उपनिवेशमा कृषि सम्बन्धबारे चर्चा गरिएको छ । उन्नाईसौँ शताब्दीमा युरोप र उत्तरअमेरिकामा बृहत् पुँजीवादी कृषिको विस्तारले भूक्षय र बन विनाशको समस्या बढेको थियो । ‘द पोभर्टी अफ फिलोसोफी’ (सन् १८४६ मा प्रकाशित) मा माक्र्सले ‘रसायनशास्त्रको विकासले माटोको प्रकृति हरेक समय परिवर्तन भइरहेको छ, हामीले आज थाहा पाएको भूगर्भसम्बन्धी ज्ञानले जमिनको तुलनात्मक उत्पादकत्वमा क्रान्ति हुन थालेको छ’ भन्नुभएको थियो । आधुनिक कृषि रसायनशास्त्रका पिता जसटस भोन लेबिगको सन् १८४० मा प्रकाशित ‘अर्गानिक केमेस्ट्री एन्ड एप्लिकेसन टु एग्रिकल्चर एन्ड फिजियोलोजी’ पुस्तक (सन् १८६२ मा प्रकाशित छैटौँ संस्करण) सन्दर्भ साभार गर्दै माक्र्सले ‘पुँजीवादी व्यवस्थाअन्तर्गत कृषि र उद्योग मिल्दा ठूलो सहरीकरण निम्त्याउँछ । सहरीकरणले समाजको ऐतिहासिक शक्तिलाई केन्द्रित गर्छ । तर त्यसले मानिस र पृथ्वीबीचको अन्तरक्रियामा दखल पुर्‍याएको छ । ….त्यसकारण, पुँजीवादी उत्पादनले उत्पादनको तौरतरिका र सामाजिक प्रक्रियाको विकास गर्छ भने सँगै जमिन र मजदुरजस्ता सबै धनका असली स्रोतलाई न्यूनाङ्कन गरेको हुन्छ’ भनी आधुनिक कृषिको विनाशकारी पक्षको उजागर गर्नुभएको थियो । लेबिगले आधुनिक कृषिको विनाशकारी पक्षलाई ‘डकैती कृषि’ को संज्ञा दिएका थिए । त्यस्तो ‘डकैती अर्थतन्त्र’ को विकास सबभन्दा बढी उत्तरअमेरिकामा भएको थियो । माक्र्सले ‘इकोनोमिक एन्ड फिलोसोफिकल म्यानुस्क्रिप्ट अफ १८४४’ मा ‘मानिसको विश्व-व्यापकताले व्यवहारमा प्रकृतिलाई उसको अजैविक हिस्सा बनाइदिन्छ’ भनेर उल्लेख गर्नुभएको थियो । एउटा प्राणीका रूपमा मानिस र बाँकी प्रकृतिबीचको सम्बन्धलाई मानिसले सुरुदेखि नै आफ्नो चिन्तनको हिस्सा बनाएका थिए । आफू र प्रकृतिबीचको अन्तरक्रिया नियमन र नियन्त्रणका लागि मानिसले प्रयोग गर्ने प्रक्रिया नै श्रम हो । उन्नाईसौँ शताब्दीमा लेविग र अन्य प्रकृति वैज्ञानिकले शरीर विज्ञान र जैविक रसायनशास्त्रको अन्तरक्रिया वा मेटाबोलिज्म (रासायनिक प्रक्रिया) को अवधारणा ल्याएका हुन् । सबै जीवन भएका प्राणीको शरीरभित्र जैविक वस्तुको ऊर्जामा रूपान्तरण हुनु अथवा बोटबिरुवा र माटोबीको रासायनिक अन्तरक्रिया नै मेटाबोलिज्म हो । उन्नाईसौँ शताब्दीको ‘दोस्रो कृषि क्रान्ति’ ले पर्यावरणीय सङ्कट पैदा गर्‍यो । सोसल मेटाबोलिज्मका आधारमा माक्र्सले प्रकृतिसँग मानिसको मेटाबोलिज्म (अन्तरक्रिया) श्रममार्फत हुने भएकाले यो प्रक्रिया निश्चित उत्पादनको चरणसँग सम्बन्धित हुन्छ भन्नुभयो । लेबिगको ‘मेटाबोलिज्म खाडल’ लाई पुँजीवादको विशिष्ट अवस्थाका रूपमा व्याख्या गर्नुभएको थियो । माक्र्सले ‘कथाको सार….पुँजीवादी व्यवस्था न्यायसंगत कृषिविपरीत जान्छ अथवा न्यायसंगत कृषि पुँजीवादी व्यवस्था अनुकूल हुने गर्दैन (पुँजी खण्ड-तीनमा)’ स्पष्ट शब्दमा उल्लेख गर्नुभएको थियो । सन् १८६८ मा विशेषतः माक्र्स अर्का वैज्ञानिक कार्ल निकोलस फ्रास एथेन्सको शाही बागका निर्देशक एवम् एथेन्स विश्वविद्यालयका प्राणीशास्त्रका प्राध्यापक (सन् १८३७-१८४२) तथा ‘क्लाइमेट एन्ड प्लान्ट वल्र्ड ओभर टाइम (समयमा जलवायु परिवर्तन र जैविक विश्व) १८४७’ र ‘हिस्ट्री अफ एग्रिकल्चर (कृषिको इतिहास) १८५२’ मा प्रकाशित पुस्तक र उनका विचारप्रति आकर्षित हुनुहुन्थ्यो ।

निकोलस फ्रासले वातावरण र उत्पादनको प्राकृतिक अवस्थाले मानवसभ्यता र विशेषतः कृषिले न्यूनाङ्कन गरेको र बन विनाशको विरोध गरेका थिए । उनले प्राचीन ग्रिस र रोममा बोटबिरुवाको अध्ययन गरेर कृषि र बन विनाश जलवायु परिवर्तनसँग सम्बन्धित छ । ‘निकै अम्लीय र बलौटे माटो भएको क्षेत्र वा चुनढुङ्गाको मात्रा बढी भएको क्षेत्रमा बन विनाश गर्दा तापमान निकै बढ्ने गर्छ’ भनेका थिए । बन विनाशले नै अन्ततः मरुभूमीकरण बढ्ने, मानवसभ्यता नै नष्ट हुने निष्कर्ष नै निकालेका छन् । निकोलस फ्रासले ‘क्लाइमेट एन्ड प्लान्ट वल्र्ड’ पुस्तकमा ‘मानिसले प्रकृतिको संसार बदल्छ । प्रकृतिमाथि मानिस धेरै कोणबाट निर्भर रहन्छ र सबैले सोचेभन्दा यो निर्भरता निकै माथि छ । वास्तवमा मानिसले प्रकृतिमा कति धेरै परिवर्तन गर्न सक्छ भने प्रकृतिले मानिसलाई चाहेको कुरा दिनै नसक्ने अवस्थामा पुग्न सक्छ । …यसमा परिवर्तनको कुनै आशा छैन’ भनेर उल्लेख गरेका थिए । माक्र्सले त्यसमा न कुनै वैज्ञानिक समाधान निर्भर छ र न त भविष्यप्रति निराशावादी नै छ भनेर निष्कर्ष निकाल्नुभयो, बरु माक्र्स पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी समाज स्थापनाका पक्षमा अझ दृढ हुँदै समाजवादी समाजले मात्र प्रकृतिसँग मानिसको अन्तरक्रिया (मेटाबोलिज्म) लाई न्यायसङ्गत तरिकाले नियन्त्रण गर्छ, सामूहिक नियन्त्रण कायम गर्छ, न्यूनतम् ऊर्जा खर्च गरेर उपयुक्त मानवीय प्रकृति र अर्थपूणर् तरिकाबाट यो अन्तरक्रिया गरेको हुन्छ भनेर उल्लेख गर्नुभएको थियो । माक्र्सले जर्ज लुडविग भोन मौरेरलाई पनि पढ्नुभयो । मौरेरले सुरुका जर्मनीका जनताबीच सामूहिक काम गर्ने र भूमिमाथि सामूहिक स्वामित्व हावी भएको सामाजिक व्यवस्था रहेको सिद्धान्तको व्याख्या गरेका छन् । त्यस्ता समुदायको प्रशासनिक काम समाल्ने निकायलाई मार्क भनिन्थ्यो । त्यो सामाजिक बन्दोबस्तमा दिगो कृषि व्यवस्था कायम थियो । माक्र्सले भेरा जसुलिचलाई ‘पश्चिमयुरोप र उत्तरअमेरिकाका समाजहरू कामदार जनता, विज्ञान र त्यसले जन्माउने हरेक उत्पादक शक्तिसँग द्वन्द्वमा छन् । यो एउटा सङ्कट हो जसको अन्त्य आफ्नै निर्मूलबाट हुन्छ । सामूहिक स्वामित्व र उत्पादनको उच्च तहको विशिष्ट आधुनिक समाजमा पुगेर मात्र यो द्वन्द्वको समाप्त हुनेछ’ भन्नुभयो । माक्र्सले पर्यावरणीय सङ्कट विज्ञान वा आधुनिक रसायनशास्त्रले मात्र समाधान नहुने र उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आधारभूत परिवर्तन नै यसको समाधान हुने विषय प्रस्ट गर्नुभयो । माक्र्सले अध्ययन गरेका प्राकृतिक वैज्ञानिक र इतिहासकारमध्ये यी केही विषय मात्र हुन् जुन मेगा (ःभ्न्ब्) चौथो अङ्क १८ मा सङ्कलित छन् ।

माक्र्सले प्राकृतिक विज्ञानसङ्गत दृष्टिकोणबाट समाजको अध्ययन गरेर वैज्ञानिक समाजवादी-साम्यवादी सिद्धान्तको प्रतिपादन गर्नुभएको थियो । पुँजीवादका कारण पर्यावरणीय सङ्कट पैदा भएको मात्र छैन, त्यसले प्रकृतिलाई पनि शोषण गरिरहेको छ । एङ्गेल्स र लेनिनको ‘पुँजीवादी कृषिको सम्पूणर् प्रगति श्रमिकलाई मात्र होइन, माटोलाई समेत लुट्ने कलाको प्रगति हो (माक्र्सवादी, लेनिनवादी दर्शनशास्त्र पृष्ठ १०६)’ मा उल्लेख छ ।

वैज्ञानिक समाजवाद र प्रविधि

माक्र्सले प्राकृतिक विज्ञानसंगत दृष्टिकोणबाट समाजको अध्ययनबाट वैज्ञानिक समाजवादी-साम्यवादी सिद्धान्तको प्रतिपादन गर्नुभयो । माक्र्सले बेलायतमा मजदुर वर्ग, पुँजीवादले विकास गरेको प्रविधि र पुँजीवादको शोषण-उत्पीडनका बारेमा गहिरो अध्ययन गर्नुभयो । माक्र्सले उत्साहका साथ यो समाजलाई अब नेतृत्व दिनसक्ने सबैभन्दा बलशाली र सबैभन्दा भरोसायोग्य सर्वहारा वर्ग हो भन्ने ठम्याउनुभयो । समाजवादी आन्दोलन माक्र्सको शिक्षाबाट प्रभावित र निर्देशित छ । प्रकृति विज्ञान र समाज विज्ञानको साङ्गोपाङ्गो अध्ययन र बुझाइ नै ज्ञान हो । ज्ञानका यी दुईवटा क्षेत्रमा माक्र्सले आफूलाई पारङ्गत बनाउनुभयो ।

आज विश्व-साम्राज्यवादले प्रविधिलाई मानव समाजसँग विच्छेद गराएको छ । प्रविधि मान्छेका कामहरू सजिलो बनाइदिन, उत्पादनहरू बढाइदिन र मान्छेको बल, तागतभन्दा बढी तागतहरू पैदा गरेर उत्पादन बढाउनका निम्ति र मान्छेका आवश्यकताहरू पूर्ति गर्नका निम्ति विकास भएको हो । मान्छेका निम्ति प्रविधि हो, प्रविधिका निम्ति मान्छे होइन । विगत पाँच दशकमा प्रकृति विज्ञान र समाज विज्ञानको प्रगति र उन्नति हेर्दा समाज विज्ञान पछाडि परेका विश्लेषणहरू भइरहेका छन् । ‘ठोस दार्शनिक आधारबिना कुनै पनि प्रकृति विज्ञान कुनै पनि भौतिकवाद बुर्जुवा बिचारहरूको प्रहार र बुर्जुवा विश्वदृष्टिकोणको कार्यान्वयनका विरुद्ध यस सङ्घर्षमा टिक्न सक्तैन । प्रकृति विज्ञान यति छिटो प्रगति गर्दैछ, यसको प्रत्येक क्षेत्रमा यति गहन क्रान्तिकारी उथलपुथल हुँदैछ भने यसले दार्शनिक निष्कर्षबिना कुनै हालतमा काम चलाउन सक्तैन ।’ (लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचाँै रुसी संस्करण, खण्ड ४५, पृष्ठ २३-३३) मा ‘लडाकु भौतिकवादको महत्व’ भन्ने लेखमा लेनिनले सारगर्भित ढङ्गले उल्लेख गर्नुभएको थियो । उक्त लेखमा अझ थप जोड दिँदै लेनिन भन्नुहुन्छ, ‘आधुनिक प्रकृति विज्ञानमा भइरहेको तीव्र उथलपुथलले यत्रतत्र प्रतिक्रियावादी दार्शनिक शाखाहरू र उपशाखाहरू, प्रवृत्तिहरू र उपप्रवृत्तिहरू जन्माउनेछ । तसर्थ, प्राकृतिक विज्ञानका क्षेत्रमा भएको क्रान्तिले प्रस्तुत गरेका कार्यभारहरूबारे जानकारी प्राप्त नगर्ने हो भने र दार्शनिक पत्रिकाले यस काममा प्रकृति विज्ञानवेत्ताहरूलाई आकर्षित नगर्ने हो भने लडाकु भौतिकवाद न त लडाकु नै हुनसक्छ, न त भौतिकवाद नै । यो कुरा आइन्स्टाइनमाथि मात्र लागू हुँदैन, अपितु प्राकृति विज्ञानका क्षेत्रमा उन्नाईसौँ शताब्दीको अन्त्यदेखि अहिलेसम्म महान्् सुधारकहरूको बहुमतमाथि नभए तापनि एक ठूलो सङ्ख्यामाथि अवश्य लागू हुन्छ ।’ (उही) । ‘सर्वप्रथम हामी यस प्रश्नलाई वैज्ञानिक ज्ञानको दृष्टिबाट हेरौँ । खगोलशास्त्र र अर्थशास्त्रबीच कुनै आवश्यकीय विधिगत भिन्नताहरू छैनन् जस्तो लाग्न सक्छ: दुवै क्षेत्रका वैज्ञानिकहरू कुनै निश्चित परिधिका घटनाहरूका लागि आवश्यक आम स्वीकार्यताका नियमहरू पत्ता लगाउने प्रयत्न गरिरहन्छन् ता कि यी घटनाक्रहरूलाई एक-आपसमा जोड्ने अन्तरसम्बन्धहरूलाई सकेसम्म स्पष्ट बुझिने बनाउन सकियोस्’ भनेर अल्बर्ट आइन्सटाइनले उल्लेख गर्नुभएको थियो । स्टेफन हकिङले ‘विगतमा दर्शन र विज्ञान सँगै थियो तर आज अलग-थलग हुन पुगेको छ । दर्शनले समाजका समस्याहरूलाई विज्ञानसम्मत ढङ्गले समाधान दिन सकेको छैन’ भनेका थिए । यो एक शताब्दीका बीचमा प्रकृति विज्ञानले उथलपुथल विकास गरेको छ । यसको दार्शनिकीकरण जरुरी छ । प्रकृति विज्ञान मानव जीवनका निम्ति र संसारका सबै जीवित प्राणीहरूका निम्ति हो । त्यो मानव जातिको नियन्त्रणभन्दा बाहिर गयो भने प्रकृति विज्ञानमा हासिल गरेका चमत्कारहरूले प्राणी जगत्कै जीवनलाई र प्राणीकै अस्तित्वलाई खतम गरिदिने खतराहरू पनि देखिन्छन् । यस विषयमा प्राकृतिक विज्ञानका वैज्ञानिकहरूको चिन्ता एवम् चासो गम्भीर देखिन्छ । अल्बर्ट आइन्सटाइनको समाजवादसम्बन्धी लेख र स्टेफन हकिङको समाजवादप्रति आस्था र विश्वास यसका ज्वलन्त उदाहरण हुन् । माक्र्सवाद र प्रकृति विज्ञानमा समानता र सङ्गतिहरू छन् । यी दुवैले भौतिक वस्तुलाई प्राथमिक र भौतिक वस्तुभित्रको द्वन्द्वात्मकतालाई स्वीकार गर्दछन् । यो पृथ्वी, ब्रह्माण्ड र प्रकृति वास्तविक हो । तसर्थ प्रकृति विज्ञानसँग सङ्गतिपूणर् ढङ्गले अगाडि बढाउनका निम्ति माक्र्सवादले मार्गदर्शन एवम् निर्देशित गर्दछ । समाज विज्ञानलाई समयसापेक्ष बुझ्ने र विश्लेषण गर्ने समस्या छ । समाज विज्ञान पछाडि पर्नुको कारण प्रकृति विज्ञानका क्षेत्रमा भएको अभूतपूर्व विकासले अब प्रजातन्त्र मुठीभर वर्गको कब्जामा हुने, मान्छेको विवेक समाप्त हुने, मानिसले हजारौँ वर्षको सङ्घर्षबाट आर्जन गरेका मूल्य, मान्यता, नैतिकतालगायत सबै मानकहरूलाई निर्मम तरिकाले आधुनिक विज्ञान प्रविधिले मिच्ने खतरनाक स्थितिको सम्भावना देखिन्छ । यो प्राविधिक सङ्कट नै हो । वैज्ञानिकहरूले भौतिक विज्ञानको आविष्कार मानव समाजको समृद्धिका लागि गरेका हुन्, विनाशका लागि होइन । प्रविधि वैज्ञानिकहरूको अनुसन्धान हो । यो विज्ञान प्रविधिमा विश्व-साम्राज्यवादी शोषण र नियन्त्रणले असुरक्षा बढिरहेको छ । प्रविधिको काम जनसेवा, उत्पादन, सामाजिक सेवा र मानव सुखका लागि प्राकृतिक प्रतिकूलतालाई अनुकूलतामा ल्याउनु हो । समाज विज्ञानले विकास गरेर प्रकृति विज्ञानलाई समायोजित गर्ने, संयमित बनाउने र मानवको नियन्त्रणमा, जीवको नियन्त्रणमा र जीवको हितमा लागू गर्न र मानिसको सचेतनाले यो प्रविधिलाई नियन्त्रण गर्न सकेन भने ठूलो दुर्घटना हुन्छ । आधुनिक प्रविधिलाई प्रकृति विज्ञानले गर्ने उन्नतिहरूलाई जीवको हित, सुरक्षा र दीर्घायुका निम्ति प्रयोग गरिनु पर्दछ । भविष्यको चिन्ता नगरी बेलगाम पर्यावरणलाई ध्वस्त पारेमा अहिलेका जीवहरू लोप हुनसक्छन् । करोडौँ वर्षपछि कुनै ग्रहहरूमा जीवहरू देखा पर्लान् । मानिस अचेतना, अहम् र मूर्खताका कारण सबै जीवलाई ध्वस्त पार्ने प्राणी साबित हुनेछ । प्रविधिको विकास र प्रयोगमा हाबी भइरहेको विश्व-साम्राज्यवादको हस्तक्षेपले समाजवादी मूल्य, मान्यता, मानवसभ्यता र पर्यावरणलाई नै ध्वस्त पार्नेछ । माक्र्सवादी दृष्टिकोणमा प्रविधिको प्रयोगले विज्ञान जन्मायो । विज्ञान सिद्धान्त र प्रविधि व्यवहार हो । व्यवहारले नै सिद्धान्त जन्माउँछ र सिद्धान्तले व्यवहारमा परिमार्जन गर्छ । व्यवहार र सिद्धान्तको द्वन्द्वात्मक सम्बन्ध हुन्छ ।

वैज्ञानिक समाजवाद

वैज्ञानिक समाजवादले मात्र आजको विश्वका राजनीतिक, आर्थिक, सामाजिक, प्राकृतिक, पर्यावरणीय, प्राविधिकलगायत महासङ्कटहरूको समाधान दिनेछ । पुँजीवादको विकल्प पुँजीवाद वा साम्राज्यवाद होइन । नेपालको सन्दर्भ पुराना पार्टीहरूले सामाजिक वर्गको स्वार्थ र वर्गीय स्वार्थको प्रतिनिधित्व एवम् नेतृत्व गर्न छोडेको निष्कर्षमा किसान, मजदुर, युवा, विद्यार्थी, बुद्धिजीवी र आमजनता पुगेका छन् । इतिहासको वैज्ञानिक समाजवाद होइन, नयाँ शिक्षा, संश्लेषण र विशेषतासहितको वैज्ञानिक समाजवाद आजको अपरिहार्य आवश्यकता हो । वैज्ञानिक समाजवाद-साम्यवादले मात्र मानव जातिलाई न्याय, मुक्ति, समानता, शान्ति, स्वाधीनता र समृद्धि दिन सक्छ । यसले नै वर्ग, जाति, लिङ्ग र क्षेत्रको पर्खाल भत्काउँछ । वैज्ञानिक समाजवाद राजनीतिक रूपले सर्वहारा वर्गको नेतृत्व, किसान-मजदुरको मुख्य भूमिका, उत्पीडित जाति, राष्ट्र, लिङ्ग, समुदायको स्वामित्वमा सत्ता, दलाल पुँजीपति वर्गको निषेध, देशभक्त शक्तिहरूसँगको सहकार्यबाट अघि बढ्छ र वर्गविहीन, राज्यविहीन, सर्वोत्तम मानव समाज, सभ्यता र व्यवस्थामा विकसित हुन्छ । आर्थिक रूपले सामन्ती भूस्वामित्वको अन्त्य, दलाल पुँजीको राष्ट्रियकरण, अति एकाधिकार पुँजीको प्रवेश रोक, दलाल एवम् सूदखोर पुँजीमाथि नियन्त्रण, आमजनतालाई गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना-सञ्चार, यातायात आदिको अधिकार सुनिश्चित हुने, आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकास, राष्ट्रिय एवम् औद्योगिक पुँजीको विकास, उत्पादनमूलक अर्थसम्बन्धको विकासबाट अघि बढ्नेछ । शोषणरहित, समान, सुख-समृद्धिमा विकसित हुनेछ । साम्राज्यवाद र दलाल पुँजीवादभन्दा फरक दृष्टिकोण, चेतना, जीवनशैली, संस्कार, आचरण र व्यवहारमा सर्वोत्कृष्ट मानव समाज र सभ्यतामा अभिव्यक्त हुनेछ । अन्ततः वैज्ञानिक समाजवाद- साम्यवादमा विकसित हुनेछ । विश्वका सम्पूणर् श्रमिक वर्गका लागि निर्विल्कप वैज्ञानिक समाजवाद- साम्यवाद हो । यसले नै विश्वका महासङ्कटहरूको अचुक समाधान गर्नेछ । यो पृथ्वी र ब्रह्माण्ड साझा फूलबारी एवम् घर साबित हुनेछ ।

सन्दर्भ सामग्री
१) वैज्ञानिक समाजवाद, विप्लव, वैशाख २०७५, रातो खबर प्रकाशन गृह प्रा.लि.
२) विश्वदृष्टिकोणमा रूपान्तरण, सुदर्शन, असोज २०७६, रातो खबर प्रकाशन प्रा.लि.
३) धर्तीको पूर्वइतिहास, मोहनविक्रम सिंह, जनसाहित्य प्रकाशन २०४१
४) प्रकृतिको द्वन्द्ववाद, एङ्गेल्स, १८७५-१८७६
५) बानरदेखि मान्छे बन्ने प्रक्रियामा श्रमको भूमिका, एङ्गेल्स, १८७६
६) लडाकु भौतिकवादको महत्व, लेनिन, लेनिन, सङ्कलित रचनासङ्ग्रह, पाँचौँ रुसी संस्करण, खण्ड ४५, पृष्ठ २३-३३
७) ओरिजन अफ स्पिसिज, चाल्र्स रोबर्ट डार्बिन, २४ नोभेम्बर, १८५९
८) समाजवादबारे अल्बर्ट आइन्सटाइन, मन्थ्ली रिभ्युको पहिलो अङ्क, अनु. दामोदर उपाध्याय
९) क्लाइमेट एन्ड क्यापिटलिज्म, नेपाली अनु. निरज लवजु
१०) द ग्रान्ड डिजाइन २०१० र अ ब्रिफ हिस्ट्री अफ टाइम, १९८८ स्टिफन हकिङ
११) गुगल, विकिपिडिया, बीबीसी आदि #रातोखबर

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार