विषयारम्भ:
सङ्गठित आन्दोलनको इतिहासका हिसाबले नेपाली विद्यार्थी आन्दोलनले सात दसक पार गरेको छ, यसलाई विश्वभरिका विद्यार्थी आन्दोलनका आँखाबाट हेर्दा यो समय धेरै लामो त होइन तर नेपालको सापेक्षतामा भने यो समय लामो हो । यसले आफ्नो क्षेत्रमा गरेको परिवर्तन र उथपुथलका योगबाट हेर्दा यो आन्दोलनले एउटा युगको प्रतिनिधित्व गरेको छ र यसले ऐतिहासिक महत्त्वका काम र परिवर्तन गरेको छ । नेपाली युवा विद्यार्थीहरूले यहाँका हरेक सङ्घर्ष, क्रान्तिहरूमा वीरता, बलिदानी र गौरवका हजारौँ कीर्तिमानी राखेका छन् र यसले नयाँ पुस्तालाई नयाँ सम्भावना र परिवर्तनका लागि ओतप्रोत र उद्वेलित गरेको छ, जुन यो आन्दोलनभित्रको उज्यालो पक्ष हो । भलै यसभित्र केही टुटफुट, विचलन र गद्दारीहरू पनि भए तर यी नगन्य मात्रामा छन् । यस नकारात्मकताबाट हामीले सिक्नुहुँदैन, यसको सकारात्मक पक्ष नै बढी छ । यसैबाट हामीले सिक्नु र गर्व गर्नुपर्दछ ।
यो आन्दोलन विद्यार्थी समुदायको मुद्दा र जनताको जनजीविकाको राजनीतिक मुद्दामा सँगसँगै केन्द्रित रह्यो । यसो हुनुमा हाम्रो देशको वस्तुगत अवस्था र आवश्यकताले पनि काम गर्‍यो भन्ने लाग्छ । जसका कारण विद्यार्थी आन्दोलन आफ्ना शैक्षिक एजेन्डामा मात्र सामेल नभई राजनीतिक परिवर्तनमा अलि ज्यादा सामेल भयो । केही राजनीतिक मुद्दा र जनजीविकाको सन्दर्भमा त यो राजनीतिक दलहरूभन्दा अगाडि बढेर जनताको राजनीतिक अधिकार र सामाजिक न्यायका लागि सङ्घर्ष र बलिदानका सयौँ कोटा चुकाएको छ । चिनियाँ काजी, कामेश्वर, कुशेश्वर, मित्रमणि, नेपाली जनयुद्धमा दिलबहादुर रम्तेल, बेनोज अधिकारी, ज्ञानप्रसाद चालिसेलगायत र अहिलेको एकीकृत जनक्रान्तिमा सहादत प्राप्त गर्ने हाम्रो सङ्गठनका केन्द्रीय सदस्य प्रज्वल शाहीसम्मले उच्च बलिदान गर्नुभएको छ । आज पनि विद्यार्थी नेताहरू पूणर् पौडेल, विपीन भण्डारीहरू बेपत्ता हुनुहुन्छ । यो आन्दोलनले यहाँ भएका हरेक राजनीतिक परिवर्तनहरूमा आफ्नो अमूल्य योगदान दिएको छ । यस कारणले पनि नेपाली विद्यार्थी आन्दोलन अग्रगामी र गतिशील आन्दोलन हो । यसप्रति आज पनि जनतामा एक किसिमको सम्मानभाव र विश्वास अटुट छ । तर, पछिल्ला दसकमा अहिलेका विद्यार्थी सङ्गठन र यसको नेतृत्वप्रति तमाम प्रश्न उठ्दै गएका छन् । किन विद्यार्थी सङ्गठनहरू विद्यार्थी समुदाय र शैक्षिक एजेन्डाहरूबाट विमुख भए ? किन विद्यार्थी सङ्गठनका नेताहरू मन्त्रीहरूका स्वकीय र सचिवालयमा थन्किँदै छन् ? किन यो बेरोजगार र लफङ्गाहरूको झुन्ड जस्तो बीआईसीसी र सिंहदरबारको गुनगान गाउँदै फन्को मार्दै छ ? किन आफ्नै पार्टीको पनि रचनात्मक प्रतिपक्ष हुनुपर्ने सङ्गठनका नेता कार्यकर्ताहरू अमूक नेताहरूको गुलामी र भजन मण्डलीमा रमाउँदै छ ? किन सङ्गठनका नेता कार्यकर्ताहरू शैक्षिक माफिया र विचौलियाहरूको सत्तासम्म पुग्न सहयोग गर्ने भर्‍याङ जस्ता हुँदै छन् ?
अवश्य पनि उपर्युक्त धेरै प्रश्न छन् जनमनमा । यी प्रशनहरू नयाँ पुस्ताका विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने संघ-संगठन र त्यसका नेतृत्वका लागि नैतिक प्रश्न बनेर आएको छ । यसबारे हामी सङ्गठनमा काम गर्ने नयाँ पुस्ताका लागि मुख्य चुनौती पनि हो । यसको सही जवाफ नयाँ पुस्ताका विद्यार्थी नेतृत्वले अवश्य दिनुपर्दछ । अनि मात्र यो आन्दोलनले विगतको ओज र गरिमा पुनःस्थापित गर्न सक्दछ । जसका लागि नेपाली विद्यार्थी आन्दोलनको सोलोडोलो समीक्षा गरेर हुँदैन, यसका हरेक पाटा र पक्षबारेमा विगतदेखि अहिलेसम्मको वस्तुनिष्ठ समीक्षा गर्नुपर्दछ । यो आन्दोलनको अबको गन्तव्य र भविष्यबारे आन्दोलनसँग जोडिएका शिक्षण संस्थाको एकाइदेखि केन्द्रसम्म जोडिएका नेता-कार्यकर्ताहरू, अभिभावक र विद्यार्थीहरू सबै प्रगतिशील शक्तिहरूले गम्भीरतापूर्वक सोच्न जरुरी भएको छ । जसले हाम्रो विगतको सही र वस्तुनिष्ठ समीक्षा गर्दै नेपाली विद्यार्थी आन्दोलनलाई नयाँ ढंगले पुनर्संगठित गरोस् र हिजोको आफ्नो गौरवशाली इतिहासको जगेर्ना गर्दै अबको भरपर्दो विकल्प बनोस् । जसले यस क्षेत्रमा देखिएको सबै विकृति विसंगतिको हल गर्दै, अहिलेकै यही बुर्जुवा संविधानमै पनि भएको जनताको शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयनमा दबाब दिँदै समाजवादी शिक्षा प्राप्तिको आन्दोलन एक ईंट्टा थप्ने काम गरोस् । यो सबै नेपाली युवा विद्यार्थी, अभिभावकहरूको चाहना हो । यसका लागि हामीले विद्यार्थी आन्दोलनको विगतलाई प्रवृत्तिका हिसाबले दुई र समयका हिसाबले चार भागमा विभाजन गरेर समीक्षा गर्न आवश्यक ठानेका छौँ:

(१) यथास्थितिवादी प्रवृत्ति: नेपाली विद्यार्थी आन्दोलनमा स्थापनाको सुरुआती दिनहरूमा यसका संस्थापकहरूले यो आन्दोलनलाई त्यो बेलाको परिस्थितिअनुसार जनताका मुद्दामा नेतृत्वदायी भूमिका खेलेकै देखिन्छ, तर जब महेन्द्रले सैन्य कू गरी प्रजातन्त्रको समाप्त गरे, त्यसपछि विशेषतः वामपन्थी आन्दोलनको एउटा खेमा दरबार छिर्‍यो, जुन जनताको एजेन्डामाथिको ठूलो गद्दारी थियो । कम्युनिस्ट पार्टीको महासचिवकै (केशरजंग रायमाझी) नेतृत्वमा भएको दरबारमा पतनले स्वाभाविकै रूपमा विद्यार्थीको एउटा खेमालाई प्रभावित पार्‍यो अर्थात् नेपाली विद्यार्थी आन्दोलनमा विचलन र टुटफुटको अध्याय सुरू भयो, जुन पञ्चायतभरि नै चल्यो र यदाकदा आज पनि यो प्रवृत्ति छँदै छ । यसले युवा विद्यार्थी र जनताको मुद्दामा होइन, बरू यथास्थिति र सत्ताको तावेदारीमा आफ्नो भविष्य देख्छ, जुन पञ्चायतका बेला मण्डले विद्यार्थीहरूले गर्दथे र आज राजावादी र वामपन्थी भनिएको यथास्थितिवादी शक्ति निकट भनिएका सङ्गठनहरूले गरिरहेका छन् । यिनीहरूको काम भनेको जनताको शक्तिमाथि प्रहार र यथास्थितिमा रमाउनु रहेको छ । यो प्रवृत्तिले मूलतः पश्चगमनको नेतृत्व गर्दछ । यो जनता विरोधी शक्ति भएकाले यसविरुद्ध प्रगतिशील शक्तिहरूले संयुक्त मोर्चा बनाउनुपर्दछ । यसको सशक्त प्रतिरोध गर्नुपर्दछ ।

(२) अग्रगामी प्रवाह: नेपाली विद्यार्थी आन्दोलनमा यथास्थितिवादी प्रवृत्ति मात्र रहेन, यहाँ बरू बलिदान गर्न तयार हुने तर यथास्थितिमा नरहने अग्रगमनकारी सोच चिन्तन बढी हावी भएका कारण पनि हजारौँ बलिदान सहेर पनि यो प्रवाह अगाडि बढ्यो, जसको नेतृत्व त्रिचन्द्र पढ्ने सहिद गङ्गालालहरूले राणाविरुद्ध गर्नुभयो । कांग्रेसको आत्मसमर्पणविरुद्ध चिनियाँकाजीहरूले, पञ्चायती मण्डले-कांग्रेसविरुद्ध मित्रमणिहरूले आफ्नो अमूल्य जीवनको बलिदान दिनुभयो । जनयुद्धमा दिलबहादुरहरू र आज प्रज्वलसम्मको बलिदानले नेपाली विद्यार्थी आन्दोलनमा अग्रगामी प्रवाहले नेतृत्व गरिरहेको छ । यो नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह हो । यसले सबै परिवर्तनकारी आन्दोलनहरूको नेतृत्व गरेको छ, जुन नेपाली विद्यार्थी आन्दोलनका लागि प्रेरणादायी पाटो हो ।

समयका हिसाबले विद्यार्थी आन्दोलनको समीक्षा गर्दा यसलाई राणाकाला, पञ्चायत, बहुदल र गणतन्त्र गरी चार खण्डमा विभाजन गर्न सकिन्छ:

(१) राणाकाल: विश्वभरिका उपनिवेश विरोधी आन्दोलन र विशेष त भारतीय स्वतन्त्रता संग्रामको प्रभावमा परेर नेपालबाट अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूले भारतमा १९९१ मा नेपाली विद्यार्थीहरूका साझा सङ्गठन बनाएको इतिहास छ । त्यो सङ्गठनका त्यस बेलाका लिखित उद्देश्यहरू के थिए, खोजकै विषय बनेको छ तर त्यति बेलाको वस्तुगत अवस्था बुझ्दा सहजै अनुमान लगाउन सकिन्छ, कि ती सङ्गठन मूलभूत रूपमा राजनीतिक अधिकारका र आफ्नो समुदायको हितका लागि स्थापना भएका थिए, जो आफ्नो पठनपाठनका साथै, नेपालको जहानियाँ राणा शासनले गरेको बर्बर अत्याचारका खिलाफमा आन्दोलित हुन चाहन्थ्यो र जनताको राजनीतिक अधिकार स्थापित गर्न चाहन्थ्यो भन्ने बुझ्न सकिन्छ । त्यसको पुष्टि नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को स्थापना १९९७ मा भएको र यसका संस्थापक सदस्य त्रिचन्द्र क्याम्पसमा अध्ययनरत विद्यार्थी गङ्गालाल श्रेष्ठको राणा विरोधी अभियानमा सहभागिता र बलिदानीले देखाउँछ । त्यसपछि २००४ सालमा असङ्गठित भए पनि जयन्तु संस्कृतम् आन्दोलन नेपाली विद्यार्थीहरूले गरेको पहिलो आन्दोलन थियो, जुन आफ्ना शैक्षिक मागका साथै, निरंकुश राणा शासनको खिलाफमा थियो । यो आन्दोलनले पनि नेपाली विद्यार्थीहरूलाई थप सङ्गठित र विस्तार हुने दिशामा काम गर्न मद्दत मिल्यो, जसको प्रभाव २००६ सालमा स्थापना भएको प्रचण्डमान सिंह नेतृत्वको विद्यार्थी फेडेरेसनमा पर्‍यो र यो सङ्गठन नै नेपालको विद्यार्थी आन्दोलनको पहिलो सङ्गठन थियो । यसले जनतामा शैक्षिक जागरण, जहानियाँ राणाविरुद्ध जनमत बनाउन र २००७ सालपछि राष्ट्रघाती दिल्ली सम्झौताको विरोध र सङ्घर्षमा ऐतिहासिक महत्त्वको भूमिका निर्वाह गर्‍यो । समग्रमा यो काल नेपाली विद्यार्थी आन्दोलनको प्रारम्भिक काल भएकाले पनि नेपाली विद्यार्थीहरू सङ्गठित हुने, शैक्षिक जागरण फैलाउने र जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सङ्गठित गर्ने प्रस्थानविन्दुको रूपमा लिन सकिन्छ, जुन सुरुआतले नेपालको प्रजातन्त्रलाई यहाँसम्मको यात्रा तय गर्न मद्दत गर्‍यो, जसलाई सुखद् र महत्त्वपूणर् उपलब्धिको रूपमा लिन सकिन्छ ।

(२) पञ्चायतकाल:राजा महेन्द्रले कू गरेपछि यसलाई बुझ्ने सन्दर्भमा कम्युनिस्टहरूमा ठूलो भ्रम रह्यो, जसको प्रभाव हाम्रो विद्यार्थी आन्दोलनमा पनि पर्‍यो । प्रचण्डमानको नेतृत्वको आन्दोलन २०१९ आसपास आइपुग्दा एक हिसाबले विघटन जस्तो हुन पुग्यो तर फेरि सचेत विद्यार्थीहरूको पहलमा कम्युनिस्ट र कांग्रेस निकट विद्यार्थीहरूको सहभागितामा २०२२ सालमा अखिलको स्थापना भयो । त्यसपछिको गतिविधि विद्यार्थी आन्दोलनको जीवनमा सर्वाधिक महत्त्वपूणर् रह्यो । यसले भारतसँग भएका असमान सन्धि सम्झौताको पूणर् खारेजी, नेपाली सीमा र भूमि अतिक्रमणको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजी र स्ववियु खोल्न पाउने अधिकार र गिरफ्तार आफ्ना नेता कार्यकर्ताहरूको रिहाइलगायत सङ्घर्षको नेतृत्व गर्‍यो ।
विद्यार्थी आन्दोलनले एउटा उचाइ हासिल गर्‍यो, जुन कुराले नेपालका राजनीतिक पार्टीहरूलाई पनि सङ्गठन विस्तार र पञ्चायतविरुद्धको जनमत सिर्जनाका लागि महत्त्वपूणर् काम गर्‍यो । साथै, यसले सर्वप्रथम भारतीय हस्तक्षेपलाई विस्तारवाद र विश्वलाई हेर्ने अमेरिकी नीतिलाई साम्राज्यवादको संज्ञा दिँदै विरोध गर्‍यो । त्यसपछि मात्र कम्युनिस्टहरूले यो पदावलिको प्रयोग गर्न थालेका हुन् । यस अर्थमा यो आन्दोलनले पार्टी आन्दोलनलाई पनि केही सन्दर्भमा अगुवाइ गरेको मान्न सकिन्छ । त्यस्तै, यसले पञ्चायतको नयाँ शिक्षा नीति (२०२८) को विरोध गर्‍यो, जुन नेपाललाई साम्राज्यवादको प्रयोगशाला बनाउने र उनीहरूका लागि जनशक्ति उत्पादन गर्ने कारखानाको रूपमा यो शिक्षा नीति आएको र नेपालको हितमा नरहेको ठहरसहित देशव्यापी आन्दोलनहरू घोषणा भए । आन्दोलनमा पञ्चायतले भीषण दमन गर्‍यो । आन्दोलनको क्रममा सेनाको गोली लागि धनुषा-जनकपुरमा सहभागी विद्यार्थी दाजुभाइ कामेश्वर यादव र कुशेश्वर यादवको वीरतापूणर् बलिदान भयो । यो वीरतापूणर् इतिहासको सान्दर्भिकता आज पनि उत्तिकै छ । त्यस्तै, २०३५ सालमा पाकिस्तानका पूर्व-प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोको राजनीतिक कारण पाकिस्तानमा फासि र त्यसको विरोधमा काठमाण्डौस्थित पाकिस्तानी दुतावास घेराउमा भएको प्रहरी दमन र हस्तक्षेपपछि विद्यार्थीहरूले गरेको आन्दोलन र प्रदर्शनले पञ्चायती व्यवस्थाको जग खल्बल्याइदियो । परिणामतः पञ्चायती व्यवस्था ‘निर्दल’ वा ‘बहुदल’ भन्ने ठाउँमा पुग्यो । यो राजनीतिक हिसाबले ठूलो उपलब्धि थियो । यसले २०४६ सालको आन्दोलनलाई विस्तारित र सङ्गठित हुन थप मद्दत गर्‍यो । यस हिसाबले पञ्चायतकाल नेपाली विद्यार्थी आन्दोलनको उत्कर्षको समय थियो । यसबिच अखिलभित्र वामपन्थी सामाजवादी धार र प्रजातान्त्रिक समाजवादी धारका नाममा फुटहरू भए । त्यसपछि पनि विशेषतः वामपन्थी विद्यार्थीहरूको नेतृत्वका स्वार्थ बाझिँदा सङ्गठनमा थुप्रैपटक टुटफुट देखियो । यसले सङ्गठनको आन्तरिक जीवन नराम्रोसँग कमजोर बनायो । यति हुँदा पनि यो आन्दोलनका रूपमा भने निकै मजबुत नै रह्यो, जसले पार्टी आन्दोलनका लागि नेपाली युवा विद्यार्थीहरूलाई सङ्गठित हुन र नेतृत्व विकास गर्नमा राम्रै काम गर्‍यो । यसर्थ, नेपाली विद्यार्थी आन्दोलनको भूमिका यो अवधिमा गतिशील र सबै हिसाबले अर्थपूणर् रहेको कुरामा कुनै शङ्का छैन ।

(३) बहुदलकाल: पञ्चायतको अन्य र बहुदलीय प्रतिस्पर्धाको बुर्जुवा प्रजातन्त्र ल्याउन नेपालका राजनीतिक पार्टीका साथै, नेपाली युवा विद्यार्थीहरूको सङ्गठन र नेताहरूले आफ्नो ठाउँबाट योगदान नै गरे तर प्रजातन्त्र प्राप्तिपछि भने नेपाली समाज र युवा विद्यार्थीहरूको समस्या जहाँको त्यहीँ रह्यो । राजनीतिक पार्टीबिच हरेक कुरामा भागबन्डा र लडाइँको खेल सुरू भयो । नेपाली जनताको मुक्तिको सपनामा खेलवाड गरियो । यही आक्रोश र आवेगले नेपाली समाजलाई फेरि उद्वेलित बनायो, जसको नेतृत्व गर्ने ठाउँमा माओवादी आन्दोलन आयो । यो आन्दोलनले देशका श्रमजीवी वर्ग, समुदाय, क्षेत्र, लिङ्गलाई आफूतिर आकर्षित मात्र गरेन, त्यो आन्दोलनको हिस्सासमेत बनायो । जुन राजनीतिक हिसाबले ऐतिहासिक पहलकदमी थियो, यो आन्दोलनसँगै जोडिएको विद्यार्थी सङ्गठनले नेपालको शैक्षिक विकृतिहरूको राम्रै भण्डाफोर गर्‍यो । शिक्षा क्षेत्रमा भएको निजीकरण र व्यापारीकरणको विरुद्धमा यो आन्दोलनले महत्त्वपूणर् उपलब्धि हासिल गर्‍यो । गाउँ-गाउँबाट शैक्षिक व्यापारीहरू खेदिने र विस्थापित भए भने विद्यार्थीहरूको साझा मुद्दामा नेपालको संयुक्त विद्यार्थी आन्दोलनले आफूलाई सङ्गठित र स्थापित गर्‍यो । स्वास्थ्य, शिक्षा, मनोरञ्जन, गाडी भाडा, छात्रवृत्ति र प्राविधिक शिक्षालगायत क्षेत्रमा आंशिक उपलब्धि हासिल गर्‍यो, जुन गर्व गर्नलायक छन् । त्योभन्दा महत्त्वपूणर् कुरा नेपालमा भएको वर्गीय विभेद र अन्यायको विरुद्धमा राज्यको रूपान्तरणका लागि नेपाली विद्यार्थीहरू आफ्नो निजी भविष्य त्यागेर समानताको सङ्ग्राम जनयुद्धमा सामेल हुने कुरा चानचुने विषय थिएन, जसले सयौँ बलिदानीका कोटाहरू चुक्ता गरेको छ । बेनोज अधिकारीलगायतले आफ्नो भौतिक जीवन दिएका छन्, जुन नेपाली विद्यार्थी आन्दोलनका लागि सर्वाधिक गौरव र महत्त्वको विषय हो । जसको जगमा आजको सबै शिक्षा, स्वास्थ्य, रोजगारलगायत मौलिक हकको रूपमा संविधानमै दर्ज भएका छन् । यस अर्थमा यो समयकाल पनि विद्यार्थी आन्दोलनको लागि सङ्घर्ष, वीरता र बलिदानकै कालखण्डको रूपमा रहेको छ । यद्यपि यस अवधिमा संसदवादी दल र त्यसनिकट सङ्गठनहरूले यो आन्दोलनलाई पार्टीको सत्ता प्राप्तिको भर्‍याङ र शैक्षिक व्यापारी आफैँ बन्ने र माफियाहरूको मतियारका रूपमा पतीत हुने अवस्थामा पुर्‍याए, जुन आन्दोलनका लागि सर्वाधिक दुःखद् विषय र आफ्नो समुदायमाथिको घात थियो । यसले आफ्नो वर्गीय चरित्र मात्र गुमाएन, आन्दोलनको गौरवमय इतिहासमाथि प्रश्न खडा गरिदियो, जसको असर आजको पुस्ताले सबै क्षेत्रमा भोगिरहेको छ ।

(४) गणतन्त्रदेखि हालसम्म: राजनीतिक एजेन्डाका हिसाबले दोस्रो जनआन्दोलन २०६२/०६३ विद्यार्थी आन्दोलनको पनि उत्कर्षको समय रह्यो भन्न सकिन्छ । यो आन्दोलनमा नेपाली युवा विद्यार्थीहरूले राजनीतिक रूपमा गणतन्त्रको माग राखेको थिए भने सामाजिक हिसाबले न्याय, समानता, रोजगारी र स्वाधीनता विषय उठाएका थियो, जुन संसदिय दलभन्दा एक कदम अगाडिको एजेन्डा थियो । जुन नारामा पछि सम्पूणर् देश सहभागी भयो र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको युगमा प्रवेश गर्‍यो । संविधानसभामार्फत नाम मात्रको भए पनि एक थान संविधान लेखिएको छ र यसभित्र जनताले शिक्षा, स्वास्थ्य, रोजगारलगायत विषयलाई मौलिक अधिकार रूपमा पाएका छन् तर पछिल्लो समय नेपाली विद्यार्थी आन्दोलनले यो मौलिक अधिकारको कार्यान्वयन गराउन दिनुपर्ने दबाबको सन्दर्भमा नराम्रोसँग चुकेको छ । जनजीविका र अधिकारका लागि सडकमा हुनुपर्ने विद्यार्थी सङ्गठनहरू मन्त्रीका स्वकीय, शैक्षिक माफियाको फाइल मिलाउने कारिन्दा र नेताको चाकडी गर्ने ठाउँमा पुगेका छन् भने केही साना पार्टीनिकट सङ्गठन अस्तित्व गुमाउने अवस्थामा छन् र क्रान्तिकारी भनिएका पार्टीनिकट सङ्गठनहरू पनि जनजीविका र आफ्नो मुद्दा सही हुँदा हुँदै पनि केही वस्तुगत प्रतिकूलता र सङ्घर्षलाई विद्यार्थी र अभिभावकसँग जोड्न नसक्दा यथास्थितिको गोलचक्करमा फसेको जस्तो अवस्था छ । देशमा भएका ठुला भ्रष्टाचार, हत्या, बलात्कार, सामाजिक बेथितिलगायत तमाम बोल्नुपर्ने मुद्दामा आवश्यक जोड पुग्न नसक्दा यो आन्दोलन मौन जस्तो लाग्छ या बोले पनि यसको प्रभाव नगन्य छ, जुन कुरा विद्यार्थी आन्दोलन र नयाँ पुस्ताको भविष्यका लागि अवश्य राम्रो होइन । त्यसकारण पनि नेपाली विद्यार्थी आन्दोलनलाई आफ्नो लयमा स्थापित गराउन र गुमेको शाख फर्काउन नेपालका सबै प्रगतिशील, देशभक्त र क्रान्तिकारी नेपाली विद्यार्थीहरूले आफ्ना दलगत आग्रह पूर्वाग्रह त्यागेर नेपाली जनता र विद्यार्थीहरूको साझा मुद्दामा सहकार्य गर्ने साहस देखाउन जुरुरी छ । अन्यथा, गौरवपूणर् इतिहास बोकेको नेपाली विद्यार्थी आन्दोलन ‘खोपीको देउता’ हुने खतरा छ । त्यसैले यसका असली उत्तराधिकारीहरूले एउटा समीक्षासहित आन्दोलनको भविष्यबारे गम्भीरतापूर्वक सोचौँ र छरिएर रहेको क्रान्तिकारी शक्तिलाई सङ्गठित र गतिशील बनाउन आफ्ना तर्फबाट निजी स्वार्थ त्यागी नेपाली विद्यार्थीका तत्कालीन र दीर्घकालीन मुद्दामा एक हुनु र छलफल गर्नु अपरिहार्य हुन गएको छ । त्यसो हुँदा नेपाली विद्यार्थीहरूका तत्कालीन मुद्दा र दीर्घकालीन रूपमा उठाउनुपर्ने मुद्दाहरू यस प्रकार छन् ः

(१) कार्यनीतिक मुद्दा:नेपाली विद्यार्थी आन्दोलनले शैक्षिक, राजनीतिक, सामाजिक, आर्थिक र पछिल्लो कोरोना महामारी जस्ता विपत्तिहरूको कसरी सामना गर्नेलगायतका विषयमा साझा एजेन्डा बनाएर कार्यनीतिक हिसाबले विद्यार्थी आन्दोलनलाई उठाउनुपर्ने देखिन्छ । यी विषयको नेपाली विद्यार्थीका अलवा मिहिनेतकस नागरिकको हित गर्ने देखिन्छ, जसका लागि यी मुद्दा साझा हुन सक्दछन् ।

(क) समान र सर्वसुलभ शिक्षा: अहिले नेपालको शिक्षामा जुन विभेद छ, यदि त्यसलाई अन्त्य गर्ने हो भने नेपाली विद्यार्थीहरूको सङ्गठनहरूले असमान रूपले लादिएको र दुई वर्ग उत्पादन गर्ने यो अव्यावहारिक शिक्षाको विरुद्ध अहिलेको संविधानको धारा ३१ ले सुनिश्चित गरेको निःशुल्क र समान शिक्षाको कार्यान्वयनको लागि आफ्नो आवाज बुलन्द गराउनुपर्दछ । जसले सबै श्रमजीवी नेपालीहरूका छोरा छोरीहरूलाई समान र व्यावहारिक शिक्षा दिलाउन सकोस् र जनतामा रहेको वर्गीय खाडललाई घटाओस् । यो साझा विषयमा नेपालका विद्यार्थी सङ्गठनहरूको समान धारणा बनाएर साझा आन्दोलनका रूपमा उठान गर्न सकिन्छ । यसले नेपालका सबै विद्यार्थी समुदायको असली रूपमा प्रतिनिधित्व गर्न सक्दछ ।

(ख) लागुऔषध दुव्र्येसनीविरुद्धको मुद्दा: नेपाली विद्यार्थी आन्दोलनले छुटाइरहेको यो मुद्दाले नेपाली समाजलाई पछिल्लो समयमा साह्रै नराम्रोसँग पिरोलिरहेको छ । जसका बारेमा न त यो देशका राजनीतिक पार्टीले बोलेका छन्, न हामी विद्यार्थी सङ्गठनहरूले नै । समाजलाई दुव्र्येसनीको यो समास्याले भुसको आगोसरि जलाइरहेको छ । त्यसमा विशेष गरी युवा विद्यार्थीहरूलाई यो समस्याले गिजोलेको छ, जसका कारण हामी र हाम्रो देशको भोलिको भविष्य अन्धकार जस्तो देखिन्छ । त्यसकारण नेपालका सबै विद्यार्थी सङ्गठनहरूले दुव्र्येसनीविरुद्ध जुध्न नयाँ कार्यक्रम बनाएर नेपाली युवा विद्यार्थीहरूको माझमा लैजानुपर्दछ । यो समस्याबाट युवा विद्यार्थीहरूलाई बाहिर निकाल्न हाम्रो आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्दछ, जुन यो आन्दोलनको तत्कालीन दायित्व हो ।

(ग) सामाजिक न्याय: नेपाली विद्यार्थी आन्दोलनको अर्को महत्त्वपूणर् पाटो भनेको सामाजिक मुद्दा हेर्ने पाटो हो । हामी हाम्रो समाजको हिजोका रूढीग्रस्त सामाजिक संरचनाले अहिले पनि थला परिरहेका छौँ । यहाँ आज पनि सामाजिक रूढीवादी परम्परा, जातपात, धर्म, लिङ्ग, समुदाय र गरिब धनीका आधारमा गरिएका विभेद कायम नै छन्, जुन कुराले नेपाली समाजको समग्र प्रगतिलाई रोकिरहेको छ । यसले हामी र हाम्रो समाजको वास्तविक चरित्र के हो ? भन्ने स्पष्ट देखाइदिएको छ । त्यसकारण पनि हामी सामाजिक रूपमा विभिन्न धारामा विभक्त भएका छौँ । यस हिसाबले विद्यार्थी आन्दोलन समाजका सचेत नागरिक र भोलिको नेतृत्व हुनुका नाताले हामीले यी किसिमका सामाजिक विभेदविरुद्ध सचेततापूर्वक जागरण अभियान चलाउने र खराबीविरुद्ध जुध्नेबारे सोच्न जरुरी छ, जसले हाम्रो वर्तमान र भविष्यलाई सही दिशानिर्देश गर्दै समतामूलक समाज निर्माणमा भूमिका खेल्न सकोस् । यसबारे हामीले समान धारणा बनाएर काम गर्न सक्दछौँ ।

(घ) जनजीविकाको मुद्दा: नेपाली विद्यार्थी आन्दोलनले अर्को उठाउनुपर्ने विषय भनेको नेपाली जनताको जनजीविकाको मुद्दा हो । हाम्रो दैनिकीमा प्रभाव पार्ने महँगी, भ्रष्टाचार, कालोबजारीलगायतका सार्वजनिक सरोकारको विषयमा सङ्गठनहरूले सशक्त भएर बोल्नुपर्दछ, जुन विगतमा थियो । आज हामी विद्यार्थी सङ्गठनहरूले मिहिनेतकस जनताको पक्षमा आवाज उठाउनु अत्यन्त जरुरी देखिएको छ । यो कुरा विशेषतः गणतन्त्रपछि हाम्रो आवाज सशक्त हुन सकिरहेको छैन । यसका कारण समाजमा उपभोक्तावादी विकृति विसंगतिले ठाउँ पाइरहेको छ । यसले साम्राज्यवादी माफियातन्त्रलाई खुलारूपले मलजल गरिरहेको छ । यो प्रवृत्तिले नेपाली समाजको आन्तरिक एकतालाई खलबल्याउँदै छ । यसलाई समयमै निर्मूल पारी नेपाली समाजलाई सहज र सरल बनाउनु नेपाली विद्यार्थी आन्दोलनको अर्को साझा दायित्व हो ।

(ङ) राष्ट्रियताको मुद्दा: राष्ट्रियतासम्बन्धी मुद्दा नेपाली जनताको विगत लामो समयदेखि निरन्तर बल्झिरहने घाउ हो । यो अवस्थाले हामीलाई आन्तरिक रूपले एकत्रित हुन दिएको छैन । हाम्रो आन्दोलनले हाम्रो आन्तरिक राष्ट्रियतालाई जोड्नुपर्दछ । देशभित्र कोही पनि जात, रङ र क्षेत्रका आधारमा विभेदमा पर्नुहुँदैन भने हाम्रो बाहिरी राष्ट्रियतासम्बन्धी छिमेकीसँगको सम्बन्ध विशेष गरी सन् १८१६ देखिको सुगौली सन्धिपछि भारतले जुन व्यवहार हामीलाई गर्दै आएको छ, यो साह्रै अपमानपूणर् र हेपाहा छ । यसका विरुद्ध सम्पूणर् देशभक्त तथा युवा विद्यार्थीहरूले बलिदानपूणर् सङ्घर्षद्वारा गौरवमय इतिहास बनाएका छन् । जुन कुराले छिमेकीको प्रत्यक्ष हस्तक्षेपलाई रोकेको छ तर परोक्षरूपमा हामीलाई दुःख दिने क्रम आज पनि जारी छ । यसो हुनुमा केही हदसम्म हाम्रो भौगोलिक कारण पनि छन् भने त्योभन्दा बढी शासकहरूको दास मनोवृत्तिले यसलाई मलजल गरेको छ । यसकारण नयाँ पुस्ताले हाम्रो राष्ट्रियताको मुद्दामा साझा धारणा बनाएर काम गर्न जरुरी छ । हाम्रो आन्तरिक र बाह्य राष्ट्रियतामाथि कसैले खेलवाड गर्न नसक्ने गरी भावनात्मक एकता कायम गर्न जरुरी छ । यो एकता कायम राखेर हाम्रो आवश्यकतामा आत्मनिर्भर रहने गरी काम गर्नुपर्दछ । यसले मात्र हाम्रो राष्ट्रियतालाई बलियो र दिगो बनाउँछ । यो दिशातर्फ सबैले सहकार्य गर्न जरुरी छ ।

(२) रणनीतिक मुद्दा: नेपाली विद्यार्थी आन्दोलनले रणनीतिक हिसाबले उठाउनु र बहसमा लैजानुपर्ने केही साझा मुद्दा छन् । जस्तो कि, समाजवाद, समाजवादी शिक्षा र यसका अन्तरवस्तुका विषय, जलवायु र पर्यावरणको संरक्षण, समानताका लागि गरिएका आन्दोलनमा प्रतिवद्धता र समर्थन र मानव समुदायको साझा भविष्यलगायतका विषयमा सङ्गठनहरूबिच सहकार्य गर्ने वातावरण हामीले बनाउनुपर्दछ । निम्न विषयमा छलफल र अन्तरक्रियाद्वारा साझा निष्कर्षमा पुग्न सकिन्छ ः

(क) समाजवाद र समाजवादी शिक्षा: राजनीतिक रूपमा बुर्जुवा संविधानमै पनि समाजवादउन्मुख भनिसकेपछि राजनीतिक पार्टीहरूको काम अब त्यसका आर्थिक, राजनीतिक, सामाजिक आधार तयार गर्नु हुन्छ र पार्टी निकट संघ संगठनहरूको काम पार्टी कामलाई मद्दत गर्नु हुन्छ । जसअनुसार विद्यार्थी सङ्गठनहरूको काम समाजवादभित्र हाम्रो शिक्षा कस्तो हुने, यसलाई कसरी व्यावहारिक र वैज्ञानिक बनाउने भन्नेमा हुन जरुरी छ । त्यसकारण हामी सङ्गठनहरूले पनि जसका पार्टीहरूको न्युनतन राजनीतिक कार्यक्रम समाजनाद छ, ती पार्टीनिकट सङ्गठनहरूले अहिलेदेखि नै समाजवाद र समाजवादी शिक्षाका विषयमा बृहत् छलफल, अन्तरक्रियामार्फत साझा एजेन्डा तय गर्नका लागि अहिलेदेखि नै काम गर्नुपर्दछ । यस दिशातर्फ हाम्रो सङ्गठनले आफ्नो २१ औँ राष्ट्रिय सम्मेलनमार्फत वैज्ञानिक समाजवादी शिक्षाका रणनीतिक नारा अघि सारेर त्यसका लागि छलफल, अन्तरक्रिया गर्दै आइरहेको छ ।

(ख) जलवायु परिवर्तन र पर्यावरणको संरक्षण ः पछिल्लो समय विकसित देशहरूको अत्यधिक उत्पादनका र खनिज स्रोतहरूको चरम दोहनका कारण संसारभर नै वायुमण्डल तात्नुको साथै, उत्तरी गोलाद्र्धका हिमशृङ्खला तीव्रतामा पग्लने क्रम जारी छ । यसका कारण समुन्द्रको सतह बढ्दै छ र समुन्द्र किनारका कतिपय देशको अस्तित्व नै नास हुने अवस्था आउँदै छ । वायुमण्डलको तीव्रताको फेरबदलले संसारका सबै जीवहरूको साझा भविष्य संकटोन्मुख छ । यसको एक मात्र समाधान भनेको मानव जातिले आफ्नो आवश्यकतामा लगाम लगाउनु हो । विकसित देशहरूको नाफाका लागि गरिने चरम उत्पादनमा नियन्त्रण ल्याउनु हो । यो विषय व्याख्या गरे जस्तो सजिलो विषय अवश्य होइन । त्यसकारण अहिलेदेखि नै यी विषयलाई विद्यार्थीहरूले आम जनताको बिचमा बहसको रूपमा लैजाने र यसको दीर्घकालीन समाधान खोज्नेतर्फ सोच्नुपर्दछ ।

(ग) आणविक अस्त्र उत्पादनविरुद्धको अभियान ः संसारभर अहिले जसरी ठुला राष्ट्रहरूले आफूलाई बलशाली देखाउन मानव सभ्यता नै संकटमा पार्ने गरी आणविक अस्त्र उत्पादनमा होडबाजी गरिरहेका छन् । उनीहरूको सुरक्षाभन्दा पनि संसारभर आफ्नो प्रभाव विस्तार गरी प्राकृतिक स्रोतहरूमाथि कब्जा गर्दै लुटको स्वर्ग मच्चाउने भूमण्डलीकृत साम्राज्यवाद नीति रहेको प्रस्ट छ । यो कामको नेतृत्व विश्व साम्राज्यवादको नाइके अमेरिकालगायत पुँजीवादी देशहरूले गरिरहेका छन्, जसका कारण संसारको भविष्य नै संकट उन्मुख छ । त्यसकारण यी महत्त्वपूणर् विषयमा संसारभरका युवा-विद्यार्थी सङ्गठनहरूले यस्ता अस्त्र निषेधका लागि अन्तर्राष्ट्रिय समुदायको बिचमा अभियानहरू निरन्तर चलाउनुपर्दछ । यी अभियानहरूले मानव जातिविरुद्धको कामलाई रोक्नुका साथै, दीर्घकालीनरूपमा हाम्रो साझा भविष्य र सन्ततिका लागि आगामी विश्व सुरक्षित राख्न सकारात्मक भूमिका खेल्दछ ।

(घ) समानताका लागि आन्दोलन ः संसारभरि सङ्घर्षहरू जारी छन् । यसमा कोही मानवता विरोधी छन् त, कोही समानताका लागि गरिएका छन् । यसमा हामी दोस्रो मुद्दाका लागि विश्व साम्राज्यवादको आतंक र नरसंहारविरुद्ध संसारभर बलियो जनमत बनाउन विद्यार्थी सङ्गठनहरूबिच समान धारणा बनाएर दीर्घकालीन हिसाबले ती मुद्दाका विषयमा विश्वभरका विद्यार्थीहरू सङ्गठित र आन्दोलित गर्ने गरी सोच्नु जरुरी छ । दीर्घकालमा संसारलाई माथि भनिएका विभेदबाट मुक्त गर्न दबाब दिने र भविष्यमा विश्वलाई अहिलेको जस्तो विभेद हुनबाट जोगाउन सकिन्छ । यसमा हामी सङ्गठनहरूले अहिलेदेखि नै साझा हिसाबले काम गर्नुपर्दछ ।

अन्त्यमा,
नेपाली विद्यार्थी आन्दोलनले नेपाली जनता र नेपाली विद्यार्थीका साझा विषयलाई विगतमा भए-गरेका काम-कारबाहीहरूको आधारमा वस्तुगत समीक्षा गर्दै उपलब्धिहरूमा गौरव र निरन्तरताका साथै, थप विकास अनि कमजोरीहरूमा आत्मालोचना र नदोहोर्‍याउने प्रतिवद्धताका साथ, सुन्दर भविष्यका लागि सबै सरोकारवाला समुदायसँग अन्तरक्रिया, छलफल, सङ्घर्ष र नेतृत्व गर्दै अगाडि बढ्ने गरी नेपालका सबै विद्यार्थी सङ्गठनहरूले साझा एजेन्डामा सहकार्य र एकता गर्दै अघि बढ्नु आजको मुख्य कार्यभार हो । सबै विद्यार्थी र सङ्गठनहरूमा विद्यार्थी एकता दिवस जेठ १ को हार्दिक शुभकामना !
-प्रकाश शाही, महासचिव, अखिल (क्रान्तिकारी)
#साभार:रातोखबर

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार