जेठ १४ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा एक जना मात्रै पोजिटिभ देखिएको छ । उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि गल्याङ नगरपालिकाले उक्त ठाउँमा नै पुगेर परिक्षण गरेको थियो ।

अहिलेसम्म गल्याङ नगर अस्पतालमा मात्रै एण्टिजिन परिक्षण गरिएकोमा शुक्रबार गिनचौरमा रहेको शहरी स्वास्थ्य ईकाई (केन्द्र) मा एण्टिजिन परिक्षण गरिएको हो । सो क्रममा ६१ जनाको एण्टिजिन परिक्षण गरिएको र एक जनामा नतिजा पोजिटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।
उक्त ठाउँमा साविकको तुलसीभञ्ज्याङ गाविसका वडा नम्बर ३, ५ र ७ का नागरिकहरु परिक्षणका लागि सहभागी भएका थिए । उक्त क्षेत्रमा विरामीको संख्या बढेको भन्दै स्थानीयले पनि परिक्षणको माग गरेका थिए ।

आवश्यकताको आधारमा अन्य गाउँहरुमा पनि पुगेर परिक्षण गरिने गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो -‘रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।

कतिपय विरामीहरु अस्पतालसम्म आइ परिक्षण गर्न अप्ठ्यारो मानिरहेको अवस्थामा गाउँमा नै पुगेर परिक्षण गर्न लागिएको अधिकारीको भनाई छ ।
साथै एण्टिजिन परिक्षण भई १४ दिन पुगेका र रिजल्ट पोजिटिभ आएकाहरुको निम्ति भोलि जेठ १५ गते पिसिआर पनि परिक्षण गरिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले महामारीलाई कम गर्न नगरपालिकाले विभिन्न उपायहरु अपनाउने तयारी अन्तरगत सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नगरपालिकाले आवश्यकताका आधारमा थप सक्रियता देखाउने बताउनुभयो ।

शर्माले पोजिटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाईएको जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकाको बजार क्षेत्रमा पछिल्लो समय कोरोनाको संक्रमणमा कमी भएपनि केही ग्रामिण क्षेत्रमा कोरोनाको संक्रमण फैलिएको भन्दै नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार