नवलपुर ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) नवलपुरले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको समन्वयमा स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको गैंडाकोट र देवचुली नगरपालिकामा भौतिक दूरी कायम राख्दै विद्यार्थी नेता/कार्यकर्ताको उपस्थिती र स्थानीय जनसमुदायको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रम गर्नु पहिले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष पितम्बर भुर्तेलले विद्यार्थीलाई माक्र्स कसरी लगाउने, किन लगाउने, यसको उद्देश्य के र आम जनसमुदायलाई सुरक्षित रहन कसरी अपिल गर्ने भन्ने विषयमा प्रशिक्षित गराउनु भएको थियो। विद्यार्थी नेता कार्यकर्ताले भौतिक दूरी कायम राख्दै जनसमुदायलाई माक्स बितरण गरेका थिए। अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष स्वरुपले कोभिड विरुद्ध विद्यार्थी अभियान कार्यक्रमले विद्यार्थीलाई जनताको सेवामा जोड्न उत्प्रेरित गरेको र व्यवहारीक पनि भएको पुष्टि गरे। साथै शिक्षालाई श्रमसँग जोड्न र सेवामूलक बनाउन आवश्यक रहेको बताए । यस्तै आफ्नो संगठन निरन्तर वैज्ञानिक शिक्षाको पक्षमा संघर्ष गरिरहेको पनि बताए।

संकटको बेला अन्य राजनीतिक दल र संगठनहरु सत्ता स्वार्थ केन्द्रीत भइरहँदा उक्त संगठन र पार्टी भने निरन्तर कोभिड विरुद्ध जनताको सेवामा जुटिरहेको अखिल (क्रान्तिकारी)ले जनाएको छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार