ट्रेन्डीङ्ग

मलाइ मैँ जस्तै बन्न मन छ

कविता

मलाइ मैँ जस्तै बन्न मन छ

मलाइ कहिले नगएको गाउँ जान मन छ,
कहिले नभेटेका मान्छेहरु भेटेर
उनिहरुको जीवन हेर्न मन छ!
उनिहरुसङ्ग केही दिन सङ्गै बिताउन मन छ!
मलाइ फेरि हेर्नु छ कि,
सम्बन्धहरु दोहोरो हुन्छन् कि हुदैनन् !
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

एकान्तमा बसेर,
ठुलो स्वरमा मनपर्ने गित सुन्दै
सानो स्वरमा आफुले गुनगुनाउन मन छ,
आँखा चिम्लेर ती शब्दहरुसङ्गै सम्झिन मन छ,
मेरा केही मिठा अतितहरु!
यो दौडान बिर्सेर एकै छिन,
आँफैसङ्ग केही कुरा गर्न मन छ!
आँफैलाइ ऎनामा हेरेर मुसुक्क मुस्कुराइदिन मन छ!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

मलाइ रिस उठ्दा रिसाउन मन छ!
मलाइ खुशी हुँदा खुलेर हाँस्न मन छ!
मलाइ कोहि मन पर्दा,
उसङ्गका सपना देख्न मन छ!
मलाइ कोहि मन पर्दा,
उसङ्ग बिपना मै भेट्न मन छ!
मलाइ कोहि मन पर्दा,
उसङ्ग बच्पना देखाउन मन छ!
मलाइ कोहि मन पर्दा,
आफू सबै सुम्पिदिन मन छ!
मलाइ कोहि मन पर्दा,
‘तिमी मलाइ मन पर्छौ’ भन्न मन छ!
मलाइ कोहि मन नपर्दा,
‘तिमी मलाइ मन पर्दैनौ’ भन्न मन छ!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

मलाइ कबिताका पाउहरुमा डुब्न मन छ!
मलाइ उपन्यासको रहस्यमयी पात्रसङ्ग कुरा गर्न मन छ!
मलाइ हातमा गन्न सकिने पाठकले पढ्ने
बिचित्रको कथा लेख्न मन छ!
सबै कुराहरु बिर्सेर
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

मलाइ गलल्ल हाँस्न मन छ,
मान्छेहरुको मुर्ख्याईमा!
मलाइ रुन मन छ,
मानिसहरुको बिबसतामा!

मलाइ हातको कान्छी औंला समाएर
केटाकेटिसङ्ग खेल्न मन छ!
मुस्कुराउँदै सुनाइएका ती,
साठि कटेका पुराना कथाहरु
हजुरबुबाहरुसङ्ग गफिदै सुन्न मन छ!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

मलाइ सबैसङ्ग नजिकिएर हेर्न मन छ!
मलाइ सबैसङ्ग टाढिएर हेर्न मन छ!
मलाइ आधी बर्ष धरतिमा,
आधी बर्ष अन्तरीक्षमा बिताउन मन छ!
मलाइ शुन्यको अगाडी आएर बस्न मन छ!
मलाइ शुन्यको पछाडी आएर बस्न मन छ!
मलाइ शून्य बनेर बस्न मन छ!
मलाइ भरपुर जिएर मर्न मन छ!
देखिने ‘म’ मरेर फेरि जिउन मन!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

तिमी मलाइ सिगार्न राम्रा लुगाहरु लगाइदिन्छौ,
तिनै लुगाहरुले मेरा पखेटा छोपिदिन्छन!
तिमी पानी पर्दा छाता ओढाउन खोज्छौ,
मलाइ बादलमाथी उड्न मन छ!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

हो,
सबै सबै बिर्सेर,
एकपटक फेरि सबै बिर्सेर,
मलाइ आफैलाइ सम्झिन मन छ!
मलाइ फेरि मैँ जस्तै बन्न मन छ!

-rudersantosh
सुनवल -१३ नवलपरासी(ब.सु.प)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?