विश्वभर महामारीकारूपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ३ करोड १७ लाख ८३ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यसको संक्रमणबाट ९ लाख ७५ हजार भन्दा बढीको मृत्यु हुँदा २ करोड ३४ लाख भन्दा बढी भने निको भएका छन् ।

नेपालमा पनि यसको संक्रमणबाट ४२९ जनाको ज्यान गइसकेको छ भने ६६ हजार ६३२ जना संक्रमित भएका छन् । ४८ हजार ६१ जना यसबाट निको भइसकेका छन् भने १८ हजार १४२ जनाको उपचार भइरहेको छ ।

यो भाइरस नियन्त्रणका लागि विश्वभर खोज अनुसन्धानहरु भैरहेता पनि अहिलेसम्म भ्याक्सिन र औषधि भने पत्ता लागेको छैन । यो भाइरससँग लड्नका लागि हाम्रो रोग प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउन जरुरी छ र यसको लागि हाम्रो मौलिक चिकित्सा पद्धतिहरुको महत्वपूर्ण भूमिका रहेको छ । जसमा आयुर्वेद, योग तथा प्राकृतिक एवं अन्य पूरक चिकित्सा पद्धतिमा दिइएको महत्वपूर्ण कुराहरु ध्यान दिन सकिएको खण्डमा पक्कै पनि हामी संक्रमणबाट टाढा रहन सक्छौँ । योग तथा प्राकृतिक चिकित्सा पद्धतिले मुलतः स्वास्थ्यका चारवटा आयामहरु प्रिभेन्टिभ, करेन्टिभ, प्रोमोटिभ, रिहाबिलिटेटिभमा रहेर काम गर्ने गर्दछन् ।

– योग तथा प्राकृतिक चिकित्सा पद्धति ‘Asymptomatic’ र ‘Symptomatic’ हुने अवस्थामा विरामीको निदानका लागि उपयोगी रहेको छ ।

– यो चिकित्सा पद्धतिले ‘रोगीलाई निरोगी र निरोगीलाई दीर्घजीवी’ गराउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ भने रोग प्रतिरक्षात्मक प्रणालीलाई पनि मजबुत बनाउने गर्दछ ।

– योग तथा प्राकृतिक चिकित्सा पद्धतिमा आधारित रहेका निम्न कुराहरुमा ध्यान दिन र उपयोग गर्न सकेमा कोभिड–१९सँग लड्नसक्ने रोगप्रतिरक्षात्मक प्रणाली राम्रो हुने मात्र नभएर त्यसबाट उत्पन्न तनाव व्यवस्थापनमा पनि सहयोग पुग्दछ ।

१) सरसफाई:

साबुनपानीले मिचिमिची २०–२५ सेकेण्ड हातधुने र सम्भव भएसम्म दैनिक पाँच–सात पटक सो प्रकृया दोहोर्याउने ।
सामाजिक दुरी कायमगर्ने, जस्तै अङ्गालो हाल्ने, हातमिलाउने, ढोग्नेजस्ता काम नगर्ने ।
सार्वजनिक स्थलमा थुक्ने, मलमुत्र विषर्जन गर्ने क्रियाकला निषेध गर्ने ।
सकेसम्म हातले नाक, मुख, आँखा छुने काम नगर्ने ।

२) प्राकृतिक भोजन (आहार) :

प्रशस्त मात्रामा रेसादार परिकारहरु जस्तै गहुँ, मकै, कोदो, फापर, गेडागुडी, हरियो साग, सब्जीबाट बनाइएका परिकार खाने ।
घरायसी भान्सामा प्रयोग गरिने मसलाहरु जस्तै: लसुन, प्याज, अदुवा, मरिच, ल्वाङ, ज्वानो, टिमुर, दालचिनी, बेसारजस्ता प्राकृतिक औषधीय गुण भएका हर्बस् प्रयोग गर्ने । जसले गर्दा रोग प्रतिरक्षात्मक प्रणालीलाई वृद्धि गर्दछ र श्वासप्रश्वास प्रणालीलाई सजिलो पार्दछ ।
हर्बल चिया, तुलसी चिया, अदुवा चिया वा हर्बल डिक्सन बनाएर नियमित बिहान र साँझ खाने गरौं ।

प्रशस्त मात्रामा झोलिलो गेडागुडीको रस खाने गरौँ ।

भिटामिन सी, एण्टी अक्सिडेन्ट पाइने खाना, भिटामिन बि १२ भएका मल्टस् भिटामिनयुक्त परिकार जस्तैः अमला, कागती, ठूलो खोर्सानी, मौसमी, सुन्तला, अङ्गुर, काँक्रा आदि सलादको रुपमा होस् वा जुसको रुपमा प्रयोग गरौँ ।
रक्सी, चुरोट, खैनी, सुर्ती नखाऔँ ।

माछा, अण्डा, मासु,तारे, भुटेका खानेकुरा अत्यन्त कमखाने गरौँ ।

३) योग :

आशन, प्राणायम र ध्यान नियमित रुपमा गर्ने गरौँ । जसले गर्दा तनाव व्यवस्थापन र इम्युनिटी बढ्ने गर्दछ ।
सरल किसिमका ब्यायाम (इण्डोर खेलकुद) सूर्य नमस्कार, सुक्ष्म व्यायाम, शरीरका जोर्नी चलाउने, मांशपेशी तन्काउनेजस्ता कार्यहरु नियमित गरौँ ।

दैनिक सूर्य किरण स्नान (सन वाथ) बिहान ६–१० भित्र कम्तिमा ३० देखि ४० मिनेट लिने गरौँ । जसले गर्दा भिटामिन डि–३ को मात्रा शरीरमा दिने गर्दछ ।

शारीरिक शुद्धीकरणका लागि अनुहारको वाफ उष्णपाद स्नान, कुन्जल, जलनेतीजस्ता यौगिक शुद्धीकरण विधि घरमै अपनाउन सकिने छ ।
दैनिक मनतातो दूधसँग आधा चिम्टी बेसार मिलाएर खाने गरौँ ।

बेलुकाको भोजन सुत्नु भन्दा करिब दुई घण्टा अघि खाने गरौँ ।

अन्ततः कोभिड–१९ सँग लड्नको लागि मानसिक तनाव र रोग प्रतिरक्षात्मक प्रणालीलाई नै मजबुद गराउनुपर्ने हुँदा आफू जहाँ छौँ त्यहीँ रही सरकारद्वारा दिइएका निर्देशनहरु पालन गरी आत्मबल उच्च राख्नु नै कोभिड–१९ बाट बच्ने उपाय हो ।

(डा. गैरे हिमालयन योगा तथा प्राकृतिक अस्पताल र काठमाडौँ नेचुरोपेथी अस्पतालका निर्देशक हुनुका साथै योग तथा प्राकृतिक चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष हुन् ।)#साभार :केन्द्रबिन्दु डटकम

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार