
केशबराज भट्टराई,भदौ २२ ,चितवन । एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौताका विषयमा आफ्नो धारणा स्पष्ट पार्न चितवनबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का सांसद माननीय पुष्पकमल दाहाल प्रचण्ड सहित प्रतिनिधि सभाका सदस्य र राष्ट्रिय सभाका सदस्यहरु सबैलाई तीन दिने अल्टिमेटम दिएको छ।
संयुक्त संघर्ष समितिले चितवनबाट निर्वाचित भएका माननिय सुरेन्द्र पाण्डे,कृष्णभक्त पोखेरल , पुष्पकमल दाहाल प्रचण्ड,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, उमा रेग्मिलाई आज ईमेल मार्फत पत्र पठाउँदै राष्ट्रघाती र देशको राष्ट्रिय स्वाधिनता माथिनै प्रश्न चिन्ह उठाउने खतरनाक अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताका विपक्षमा आफ्नो धारणा र अभिमत जाहेर गर्न ३ दिने समय सिमा तोकेको हो।
संयुक्त संघर्ष समिति चितवनले माननियहरुको नाममा पठाएको पत्रमा भनिएको छ-“प्रस्तुत विषयमा नेपाली जनताको मनोभावना माथि कुठाराघात गर्ने मन्सायका साथ एमसिसी सम्झौता सदनबाट पारित गराउने षड्यन्त्र खतरनाक रुपमा आइरहेको परिपक्षेमा, मिति २०७५ भाद्र २२ गते एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनको बैठकले यस जिल्लाका जननिर्वाचित माननीय सांसदलाई देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक यो सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत मिति २०७८ भाद्र २५ गते सम्म सार्वजनिक गर्नुहुन अनुरोध गर्दछौं।”
यसै बिच एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसिसी सम्झौताका विरुद्ध र खारेजीको माग गर्दै आज नारायणगढको शहिद चोकमा एमसिसी सम्झौता जलाएर विरोध प्रदर्शन गरेको छ।