ट्रेन्डीङ्ग

गल्याङ नपाको वार्षिक समिक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रम सार्बजनिक

भदौ ८ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । गल्याङ नगरपालिका सभाहलमा भएको कार्यक्रममा गत आर्थिक वर्षको नीति योजना कार्यान्वयनको समिक्षा एवम चालु आर्थिक वर्षको योजनाको बारेमा छलफल भएको हो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले नगरवासीलाई अधिकतम सेवा दिने काममा दत्तचित्त भएर लाग्न आग्रह गर्नुभएको छ ।उहाँले नगरवासीका गुनासा नआउने गरी काम गर्न जनप्रतिनिधि एवम कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

नगरप्रमुख अधिकारीले भन्नुभयो-‘सकेसम्म छिटो र छरितो ढंगले नगरवासीको काम होस् भन्ने कुरामा सबैले जोड दिनुपर्छ ।’उहाँले कोरोना संक्रमणका कारण सोचेजति काम गर्न नसकिए पनि नगरपालिकामा धेरै कामहरु भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले स्थानीय तहको बेरुजुलाई कम गर्न कर्मचारीनै बढि जिम्मेवार हुने भन्दै आगामी वर्ष बेरुजु कम गर्ने गरी लाग्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो –‘कागजपत्र कहाँ के पुगेको छैन, त्यो हेर्ने र पुरा गर्ने काममा अलि गम्भिर ढंगले लाग्न म आग्रह गर्दछु ।’

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले साधन स्रोतको कमी भए पनि अधिकतम सेवा दिनुपर्नेमा जोड दिनुभयो । शर्माले भन्नुभयो –‘साधन स्रोतले परिपूर्ण कहीं पनि हुँदैन । भएको स्रोत साधनलाई प्रयोग गरी उच्चतम काम गर्नु नै ठूलो कुरा हो ।’

अन्तिम समयमा काम सम्पन्न गर्ने र भूक्तानी दिने प्रबृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिदै उहाँले आगामी मंसिर सम्ममा सबै योजनाको स्टमेट पुरा गरी सम्झौता सम्पन्न गर्नेगरी लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाका ११ वटै वडा तथा शाखा प्रमुखहरुको तर्फबाट गत वर्षको प्रतिबेदन प्रस्तुत गरिएको छ । जस अनुसार गत आर्थिक वर्षमा लक्ष्य भन्दा एक सय ९ प्रतिशत बढि राजश्व संकलन भएको छ ।

राजश्व शाखाको तर्फबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख प्रेम बहादुर आलेले आय प्रक्षेपण भन्दा एक सय ९ प्रतिशत बढि दुई करोड १९ लाख ९६ हजार दुई सय छ रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।

उहाँले गत आर्थिक वर्षमा वडाहरुबाट ३८ लाख २७ हजार नौ सय ५२, नदिजन्य पदार्थको ठेक्का सम्झौताबाट ४२ लाख १६ हजार पाँच सय ९७ तथा नदिजन्य पदार्थमा कर्मचारी परिचालनबाट ४० लाख १० हजार एक सय ५० रुपैयाँ राजश्व संकलन भएको जानकारी दिनुभयो ।

यस्तै,पशु सेवा शाखाबाट प्रतिबेदन पेश गर्दै शाखा प्रमुख सुशिल अर्यालले पशुका लागि दिइएको विभिन्न अनुदान मध्ये दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट ७८ लाख ९९ हजार नौ सय २० रुपैयाँ अनुदानबाट एक हजार एक सय ७९ परिवार कृषक प्रत्यक्ष लाभान्दित भएको बताउनुभयो । यस्तै, गाई भैंसीमा लागत साझेदारी कार्यक्रम अन्तर्गत ६२ लाख ६६ हजार अनुदानबाट दुई सय ९४ जना कृषक प्रत्यक्ष लाभान्दित भएको अर्यालले जानकारी दिनुभयो ।

यस्तै पशु सुरक्षण कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ अनुदानबाट एक हजार दुई सय पाँच जना कृषक प्रत्यक्ष लाभान्दित भएका छन् । यसैगरी चार प्रतिशत कृषि ऋण अनुदान अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा दुई सय ८१ जना प्रत्यक्ष लाभान्दित भएका छन् । यस्तै, बंगुरपालन कार्यक्रम अन्तर्गत १५ लाख अनुदान वितरण गर्दा ६४ परिवार प्रत्यक्ष लाभान्दित भएका छन् भने ११ वटै वडामा गरिएको कुखुरापालन कार्यक्रमका लागि ५० प्रतिशतमा पाँच लाख अनुदान वितरण गर्दा एक हजार एक सय ९४ कृषक प्रत्यक्ष लाभान्दित भएका छन् ।

प्रतिबेदन प्रस्तुत गर्दै वडा सचिवहरुले कर्मचारीको अभाव, कर्मचारीलाई तालिमको व्यवस्थापन, कम्प्युटर प्रिन्टर सहितका उपकरणको आवश्यकता, इन्टरनेट लगायतका समस्या समाधानमा जोड दिन आग्रह गरेका छन् ।

यसैवीच, कार्यक्रममा चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम पनि सार्बजनिक गरिएको छ ।कार्यक्रममा सबै वडागत योजनाका लागि बजेट विनियोजन गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal