अनिल थारु ,बैशाख २८, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिकामा मंगलवार जनस्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ९ बानियाँभार अर्थात मिनी रोल्पामा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले उक्त भवनको शिलान्यास गर्नुभएको छ ।
सो भवन नेपाल कम्युनिष्ट पार्टीले आफ्नै ६३ लाखको लगानी भवन निमार्ण हुन लागेको जनस्वास्थ्य सेवा केन्द्र भवन निमार्ण समितिका अध्यक्ष यादव चन्दले जानकारी दिनुभएको छ । एक महिना भित्रै भवन निमार्णको काम सम्पन्न गरिने यादवले बताउनुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नेकपाका महासचिव नेत्र विक्रम चन्दले कोरोनाको दोस्रो लहरको जोखिम बढ्दै गएपछि कोरोना संक्रमितहरुको उपचारका लागि सहजरुपमा विभिन्न सेवाहरु यस केन्द्रबाट प्रदान गर्ने बताउनुभएको छ । यस जनस्वास्थ्य सेवा केन्द्रलाई अझै विस्तार र प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धतासमेत चन्दले जनाउनुभयो ।
यस जनस्वास्थ्य सेवा केन्द्रबाट दीर्घकालिनरुपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको प्रबन्धसहित अगाडी बढाउने उहाँले बताउनुभयो । सबैले मिलेर यसलाई समय अनुसार विस्तारै सुविधा सम्पन्न अस्पतालको रुपमा पनि बनाउनुपर्नेमा जोड दिनुभयो ।
कोरोना महामारीलाई परास्त गर्नु मानवीय कर्तव्य भएको बताउँदै सबै नागरिकको स्वास्थ्यलाई ध्यान दिनु अहिलेकोको आवश्यकता भएको जिकिर गर्नुभयो । यस विषम परिस्थितिमा हामी सबैले आ–आफ्नो ठाउँबाट अहम भूमिकाको जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द(विप्लव)को प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य चन्द बहादुर चन्दको विशिष्ट आतिथ्यता, अतिथिहरुमा केन्दीय सदस्य संजिव, केन्दीय सदस्य असल, केन्दीय सदस्य जुझारु, नेकपा कपिलवस्तु सचिव शेरमान,शिवराज ९ वडा अध्यक्ष चुर बहादुर खड्का, सहिद प्रतिष्ठान अध्यक्ष भेक ब. थापा , शिवगढी सेक्रेट्ररी पवेलको उपस्थिति रहेको थियो भने जनस्वास्थ्य सेवा केन्द्र भवन निमार्ण समितिका अध्यक्षता र दिलमाया थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।