कास्की बैशाख २६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बहुमतको हस्ताक्षर बुझाउने भएका छन् ।
मुख्यमन्त्रीको राजीनामासंगै विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए । उनका अनुसार विपक्षी दल अव कसरी जाने भन्ने विषयमा छलफलमा जुटेको छ ।‘हामी ३१ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउछौ’ उनले भने ।
गण्डकीमा बहुमतको लागि ३१ जनाको हस्ताक्षर चाहिन्छ । अविश्वासको प्रस्तावमाथी मतदान हुने दिनको अघिल्लो दिनमै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । अविश्वासको प्रस्ताव पास हुने सम्भावना देखेपछि उनको राजीनामा आएको स्रोतले जनाएको छ । स्रोतका अनुसार आइतबार विहानसम्म मुख्यमन्त्रीले राजीनामा दिने कुरा थिएन ।
गण्डकीमा एमालेका २७ सांसद छन् । कांग्रेस,माओवादी,जसपा र राजमो गरि बहुमत पुग्नेछ ।