
सुनवल।अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजना समितिको निर्वाचनमा सत्तारूढ दल एमाले-कांग्रेस गठबन्धन र विपक्षी मोर्चाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि सत्ता गठबन्धन र विपक्षि मोर्चाले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धामा छन्।
सत्ता गठबन्धनको नेतृत्व बालकृष्ण भट्टराई सहित सचिवमा ताराप्रसाद भुर्तेल र कोषाध्यक्षमा सोमनाथ काफ्ले रहेका छन भने विपक्षी मोर्चामा एमालेबाट विद्रोह गरेका राजकुमार श्रेष्ठको नेतृत्वमा सचिवमा केशवकान्त न्यौपाने र कोषाध्यक्षमा जगतराम कंडेलले उम्मेदवारी दिएका छन ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिएका भट्टराईलाई नेकपा (एमाले) र नेपाली काङ्ग्रेसको समर्थन छ भने श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र माओवादी केन्द्रको समर्थन रहेको छ। भट्टराई निवर्तमान अध्यक्ष हुन भने श्रेष्ठ पूर्वअध्यक्ष हुन। भट्टराई र श्रेष्ठ दुवै एमाले निकटका मानिन्छन्।
त्यसैगरी सचिव पदमा ताराप्रसाद भुर्तेल र केशव कान्त न्यौपाने प्रतिस्पर्धी छन। भुर्तेललाई एमाले र कांग्रेसको साथ छ भने न्यौपानेलाई रास्वपा , राप्रपा र माओवादी केन्द्रको समर्थन गरेको छ। भुर्तेल र न्यौपाने दुवै काँग्रेस निकट हुन् ।
साथै कोषाध्यक्ष पदका लागि सोमनाथ काफ्ले र जगतराम कंडेल बीच प्रतिस्पर्धा हुँदैछ ।काफ्ले एमाले-काँग्रेस गठबन्धनका उम्मेदवार हुन भने कँडेललाई रास्वपा, राप्रपा र माओवादी केन्द्रले समर्थन गरेको छ। काफ्ले काङ्ग्रेस निकट हुन भने कडेल एमाले निकट रहेका छन्।
पश्चिम नवलपरासीको सुनवल- ११ र १२ मा कार्यक्षेत्र रहेको खानेपानीमा १ हजार १ सय ७ जना मतदाता रहेका छन। चैत ९ गते हुने निर्वाचनले सत्ता पक्ष र विपक्षी गठबन्धनबीचको स्थानीय तहको राजनीतिलाई रोचक बनाउने अनुमान गरिएको छ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पद बाहेक अन्य पदमा सर्वसम्मत चयन भैसकेका छन। उपाध्यक्षमा विष्णुप्रसाद लामिछाने, महिला उपाध्यक्षमा मेनुका अधिकारी क्षेत्री, सहसचिवमा दिपा पाण्डे चयन भएकी छन। सदस्यहरुमा क्रमश: पवित्रा बुढाथोकी, विष्णुदेवी बस्याल, रामलाल केवट, गयाप्रसाद चौधरी, चन्द्रप्रसाद पौडेल, अम्बरराज बस्याल र हिरा शर्मा काफ्ले चयन भएको जनाइएको छ।