
परासी।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-३ बेलासपुरमा दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ।
पाल्हीनन्दन-३ कुश्माका ३५ वर्षीय विजय भैरहवा स्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिए।
झडपमा घाइते भएका मोहरम पावारियाको अवस्था पनि जटिल रहेको र उनको सोही अस्पतालको सघन कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।
मंगलबार बिहान १० बजे दुई पक्षबीच भएको झडपमा नेपाल प्रहरीका १२, सशस्त्र प्रहरीका ४ र स्थानीय ५ जना गरी कुल २१ जना घाइते भएका थिए।
झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको बा १ झ ७४४८ नम्बरको गाडी र एक कबाड गोदाममा आगजनी गरिएको थियो।स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अशुल ग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो।
प्रहरीले आगजनी घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
स्थानीयका अनुसार २२ वर्षीय धोबी थरका केटाले खातुन थरकि केटीलाई भगाएको विषयमा विवाद उत्पन्न भएपछि झडप भएको हो।