
सुनवल।बडेरा सामुदायिक वन उपभोक्ता समूहले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत पुनरुत्पादन (कटान-रोपण) कार्यको शुभारम्भ गरेको छ।वन संरक्षण र दीगो व्यवस्थापनलाई ध्यानमा राख्दै शुक्रबार एक कार्यक्रमका बीच कटान प्रक्रिया सुरू गरिएको हो।
वैज्ञानिक विधिअनुसार प्रजनन क्षमतायुक्त रुखहरूको पहिचान गरी क्रमबद्ध रूपमा कटान गर्ने र त्यस स्थानमा नयाँ विरुवा रोप्ने प्रक्रिया अघि बढाइने बडेरा सामुदायिक वनका अध्यक्ष मदन पन्तले बताए। वनको पुनरुत्पादन क्षमता बढाउन मद्दत गर्ने उनले बताए।
कार्यक्रममा सब डिभिजन वन कार्यालय, सुनवलका प्रमुख मरिचमान लामा,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सूर्य न्यौपाने, स्थानीय उपभोक्ता तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बडेरा सामुदायिक वनकी सचिव देवकला खनालले पुनरुत्पादन प्रक्रियाले वनलाई व्यवस्थित र दिगो बनाउने विश्वास व्यक्त गरिन।