ट्रेन्डीङ्ग

बर्दघाटको डान्सबारमा झडप: एक जनाको मृत्यु, तीन जना पक्राउ

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनाबारीस्थित नशा रेष्टुरेन्ट एण्ड डान्सबारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।माघ २८ गते मध्यराति भएको झगडामा घाइते भएका प्रतापपुर गाउँपालिका-९ का सन्त बहादुर चौधरीको माघ ३० गते बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार डान्सबारभित्र भिडियो खिचेको विषयलाई लिएर दुई पक्षबीच झगडा भएको थियो।झडपमा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि बुटवल लगिएको थियो।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्सबार सञ्चालक राकेश हरिजनसहित प्रतापपुर-१ का अमित चौधरी र सोही स्थानका सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनामा मिन्टु चौधारी र सरोजकुमार चौधरी पनि घाइते भएका थिए।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर शिव कुमार क्षेत्रीका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई  जिल्ला अदालत नवलपरासीमा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको बताए।

घटना मध्यरातमा भएको पाइएकाले उक्त होटलको सञ्चालन अवधिको सन्दर्भमा पनि प्रश्न खडा भएको छ। सो क्षेत्रमा विभिन्न यौनजन्य गतिविधि सञ्चालन गर्ने गरी बार तथा रेष्टुरेन्ट सञ्चालन हुने गरेको बताइँदै आएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?