सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं.२ बत्रौलीमा शनिबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं. ५ का १८ वर्षीय दीप प्रजापति रहेका छन।
प्रहरीका अनुसार प्रजापतिको उपचारका क्रममा मृत्यु भएको हो।
परासी-सुनवल सडकखण्डमा परासीबाट सुनवलतर्फ जाँदै गरेको लु ९८ प १७५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही दिशामा बिग्रिएर (टायर पञ्चर) रोकिराखिएको उखु लोड भएको इन्जिनविहीन ट्र्याक्टरको ट्रालीमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।मोटरसाइकलमा सवार रामग्राम वडा नं.५ निवासी १९ वर्षीय सुरज साहानी घाइते भएका छन्। घाइते सहानिको दुबै खुट्टामा चोट लागेको र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ।
मृतकको शव भैरहवा मेडिकल कलेजमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ।घाइते साहानीको अवस्था सुधारउन्मुख रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।