
परासी।पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिदा राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ।बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग खुलाउन गएराती १२ बजेबाट काम सुरु भएको छ।
नारायणगढ बुटवल सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाईना स्टेट कन्ट्रक्सन संग समन्वय गरी गएरातीबाटै काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासी सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
अहिले बिहान १०/११ बजे सम्ममा उक्त सडक एकतर्फि भएपनि खुलाउने प्रयास भईरहेको जनाईएको छ।वर्षायामका कारण बन्द सडक मौसममा केहि सुधार भएपछि खुलेको भएपनि सडक भासिएपछि दाउन्नेदेखि पश्चिम र पुर्वि क्षेत्रमा सवारी साधनको ८ किलोमिटरसम्म लामो लाईन छ।
सडकको माथिल्लो भागमा पर्खाल भत्किएर विद्युतको हाईटेन्सन लाईन सडकतर्फ ढलेको छ भने सडक दुई मिटर तल भासिएको छ।विद्युत पोल व्यवस्थापनका लागी विद्युत प्राधिकरणको पनि टोली खटिसकेकाले छिट्टै सडक सुचारु हुने प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि नारायणगढबाट जादै गरेका सवारी साधनलाई दुम्कीबास र बुटवल तर्फबाट आउदै गरेका सवारी साधनलाई बर्दघाटमा रोकिएको छ ।